मुलुककै बहुआयामिक दौड प्रतियोगिता 'धरान रन'को १२ औं संस्करणमा आगामी फागुन १२ गते आयोजना हुने भएको छ ।

टाइमिङ चिप सिस्टममा दौडन नाम दर्ता गराएका ३ हजार ६ सय धावकले धरानको १० किलोमिटर दूरी परिक्रमा गर्दैछन् ।

भानुचोकबाट बिहान ठीक  ७:३० बजे सुरु हुने दौड स्पर्धाको सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलनमार्फत् संस्थापक सन्तोष राईले जानकारी दिए ।

यस वर्षको 'रुट'  पुतली लाइनदेखि सुरु गरी देशीलाइन-
पुरानो बजार- पिण्डेश्वर मन्दिर विजयपुर चोक- हात्तीसार क्याम्पस- रेडक्रस भवन- अमरहाट कभर्ड हल-  जिरो प्वाइन्ट चोक- जानकी चोक- धरान रंगशाला- गणेशमान चोक- पानी टंकी- कल्याण चोक- मंगलबारे- रत्नचोक- बुद्ध चोक- दुर्गा चोक- पुतली लाइन हुँदै पुनः भानुचोकसम्म रहेको छ ।

स्पर्धामा ह्वील चियर दौडसँगै १६ देखि ३९ वर्ष उमेर समूहमा खुल्ला दौड आयोजना गरिने छ । जसका विजेता महिला पुरुष दुवै विधामा प्रथम, दोस्रो, तेस्रो हुनेले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

१२ देखि १५ वर्ष उमेर समूहका धावकले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

४० वर्षमाथिका भेट्रान विधामा दौडने स्पर्धीले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै धरानका स्थानीय धावकधाविकालाई प्रोत्साहन स्वरुप आकर्षक पुरस्कार दिइने आयोजकको योजना छ । 'धरान रन' मा सहभागी सबैले टिसर्ट प्राप्त गर्नेछन् भने सबैलाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । यस वर्षसमेत समाजमा योगदान पुर्याउने व्यक्तिलाई 'धरान रन'ले सम्मान गर्नेछ ।

यसपालीको च्यारेटी रनबाट उठ्ने रकम सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिस्वरुप प्रदान गरिने बताइएको छ ।

'धरानको गौरव र पर्यटन, प्रवर्द्धन विकासको अभियानसँग जोडिएको धरान रनको कार्यक्रम अवधि बिहान ६ देखि ९ बजेसम्म सम्पूर्ण धरानवासी सरोकारवाला, टोलसुधार समिति, संघसंस्थाहरुको सहयोग सहकार्यबाट यस कार्यक्रम सम्पन्न गरिने हुँदा सम्पूर्ण धरानवासीमा कार्यक्रम समय र दौड रुटमा सवारी साधन नचलाई अथवा डाइभर्जन रुट प्रयोग गरी सहयोग गरिदिन हुन धरान रन समूह हार्दिक अपिल गर्दछ ।' पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।