मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन खेलमा आइडल स्कुलविरुद्ध कार्मेल स्कुलले जित निकालेको छ ।

आजै सम्पन्न चार स्पर्धामा कार्मेलसँगै, सुनाखरी, समिट र प्रभात स्कुल विजयी भए ।

आइडियल स्कुलले कुल १४ स्कोर गर्दा विजयी कार्मेलले १८ स्कोर जोडेको थियो । स्पर्धाको प्रत्येक क्वाटरमा कार्मेल र आइडल स्कुलले ०–३, ७–०, ७–६ र ४–५ अंकको स्कोर बनाएका थिए ।

यस अघिको पहिलो खेलमा सुनाखरी स्कुलले २४-१० को सेटमा सत्य शिशु सदनमाथि जित निकालेको थियो । समिट स्कुलले पदम मेमोरियल स्कुललाई ३५–७ र प्रभात स्कुलले ज्ञानोदय स्कुललाई ३४–१५ अंकको अन्तरले पराजित गरेका थिए ।
उद्धघाटन खेलका प्रमुख अतिथि धरान-१८ वडाध्यक्ष एवं पूर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष प्रवीण राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल सार्वजनिक गुठी संस्थाका अध्यक्ष भीमराज लिम्बूले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्धघाटन गरेका थिए । कार्यक्रममा विशेष अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य रोशन राई, सुनसरी जिल्ला बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले स्वागत मन्तव्य राख्दै विद्यालय र कार्यक्रमको विषयमा प्रकाश पारेका थिए ।

दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको आज फागुन ४ गतेदेखि जारी प्रतियोगितामा ४ खेल आयोजना भए।
डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको सहयोगमा फागुन ९ गतेसम्म रनिङ कपको आयोजना हुन लागेको हो ।
प्रतियोगितामा झापा, सुनसरी र मोरङका १४ विद्यालयले सहभागिता जनाएको डिपो आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

डिपो स्कुललाई योगदान दिएका दिवंगत मेजर श्रवणकुमार लिम्बूको सम्मानमा गत सालदेखि विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो ।

प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्बूको परिवारबीच सहकार्य रहेको छ । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठी व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष  र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान दिएको अध्यक्ष लिम्बूले बताए ।

उनकै पालामा डिपो स्कुलमा प्लस टु र ब्याचलर लेवल अध्यापन सुरु भएको थियो । उनको कोरोना महामारीको कारण २०७८ साल साउन १५ गते निधन भएको थियो ।

प्रतियोगिताको सम्पूर्ण खेल धरान-१८ स्थित डिपो स्कुलको बास्केबल कोर्टमा हुदैछ ।