डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजित दोस्रो इन्टर स्कुल बास्केटबल रनिङ मेजर श्रवण कुमार मेमोरियल डिपो कपमा १४ टिमले सहभागिता जनाउने भएका छन्।

डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटबल र धरान बास्केटबल सङ्घको सहकार्यमा फागुन ४ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्धघाटन खेलमा  कार्मेल हाइ स्कुल र आइडियल स्कुलबीच प्रतिस्पर्धात्मक खेल हुने छ। उद्धघाटनको दिन चार खेल सम्पन्न हुने सुनसरी बास्केटवल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिएका छन्। उद्धघाटन खेलसँगै सुनाखरि स्कुल र सत्यशिशु, समिट स्कुल र पदम मेमोरियल र ज्ञानोदय स्कुल र प्रभात स्कुलबीच खेल हुने छ।

प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  त्यसैगरी प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफि र मेडल प्रदान गर्ने डिपो क्याम्पस प्रमूख राजकुमार राई बताएका छन्।

 डिपो स्कुललाई  लामो समय महत्वपुर्ण योगदान दिएका दिवंगत मेजर श्रवणकुमार लिम्बूको सम्मानमा गत बर्षदेखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्बूको परिवारबीच सहकार्य रहेको छ। मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्षमा १९ वर्ष  र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्षसम्म नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान पुर्याएको विद्यालयले जनाएको छ।

उनकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यापन सुरु भएको थियो । कोरोना महामारिको कारण उनको मृत्यु भएपछि उनको सम्झनामा मेजर श्रवणकुमार इन्टर स्कुल बास्केटबल सुचारु गरिएको हो ।