शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विविधता नै पहिचान भएको बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगअन्तर्गत आमसञ्चार समितिद्वारा सोमबार धरानमा आयोजित 'स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा पत्रकारको भूमिका विषयक एक दिने कार्यशालामा बोल्दै राष्ट्रिय आयोगको कार्यकारिणी समितिका अध्यक्षसमेत रहेका मन्त्री राईले दुनियाँलाई गतिशील बनाउनका लागि सबै विचारहरुलाई, सबै सम्पदाहरुलाई संरक्षण गरेर जानुपर्नेमा जोड दिए ।

'जसलाई हामी विविधता भन्छौं नि त्यही हो पहिचान । मलाई त नेपाली राजनीतिमा पहिचानवाला भन्छन्,' मन्त्री राईले भने, 'पहिचानको राजनीति बोकेको अशोक राईले पत्रकारहरूले पनि सोध्नुहुन्छ, पहिचानको राजनीति बोकेर दु:ख पाउनु भो नि दाइ? मैले जवाफ दिने गरेको छु दु:ख होइन, त्यसलाई दु:ख मान्नु हुँदैन । काम गर्नुलाई कर्मशील बन्नुलाई कृयाशील बन्नुलाई दु:ख ठान्ने हो भने त दुनियाँ त जड हुन्छ । दुनियाँमा गति पैदा हुँदैन ।'

मन्त्री राईले दुनियाँलाई गतिशील बनाउनका लागि सबै विचारहरुलाई, सबै सम्पदाहरुलाई संरक्षण गरेर जानुपर्ने बताए । उनले भने, 'त्यसै कारण हामीलाई डेमोक्रेसी, गणतन्त्र, सङ्घीयता चाहिएको छ । सङ्घीय गणतन्त्रको भावभूमि, सैद्धान्तिक पृष्ठभूमि आवश्यकता त्यसै कारणले हो ।' मन्त्री राईले  आमसन्चारकर्मीलाई  'स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा पत्रकारको भूमिका विषयसम्बन्धमा गहिरो छलफल गर्न अनुरोध गरे उनले समुचित निष्कर्ष निस्कने अपेक्षा व्यक्त गरे ।

संसारभरिका मूल्यवान सांस्कृतिक निधिहरु सभ्यताका स्तम्भहरु सबैको सूचीकरण गर्नेमात्र होइन, तिनको बारेमा अनुसन्धान गर्ने काम युनेस्कोले गर्ने मन्त्री राईले बताए ।
'यी कुराहरु इतिहाससग पुरातत्वसँग जोडिएका छन्, हाम्रा विगतसँग जोडिएका छन् । विगतको प्रकाशमा हामीले हाम्रो वर्तमानको मार्ग अवलोकनसम्म गर्ने हो,' मन्त्री राईले भने, 'यो आमसन्चार भनेको यस्तो क्षेत्र हो, दैनन्दिन होइन, क्षणक्षण, प्रत्येक क्षण हामीलाई मार्गदर्शन गर्छ । तपाइँहरु त्यो क्षेत्रमा हुनुहुन्छ । मलाई अत्यन्त खुसी लागेको कुरा के छ भने अहिले अध्ययन अध्यापनको हिसाबले हामीकहाँ मासकम्युनिसेसन, जर्नलिजममा स्नातक, स्नातकोत्तर साथै माध्यमिक तहमा पनि पठनपाठनको एउटा स्थिति छ ।'

अहिलेको समयमा धेरैधेरै सुपठित पत्रकार, सन्चारकर्मी, प्रविधिमा ज्ञान, सीप भएका, तालिम लिएका व्यक्ति उत्पादन भइरहेको उनले बताए ।

'आमसन्चारलाई जसलाई हामी राज्यको चौथो अंग भन्छौं, त्यसलाई जिम्मेवार बनाउने, अनुशासित बनाउने, कर्तव्यनिष्ठ, सेवामूलक बनाउने सन्दर्भमा युनेस्कोको ठूलै भूमिका रहन्छ,' मन्त्री राईले भने,'आज भूमिकाकै सम्बन्धमा छ, 'रोल अफ जर्नलिट्स इन सेफगार्डिङ द लोकल कल्चर हेरिटेज' यो विषयमा कार्यपत्रमाथि यहाँहरुले पर्याप्त छलफल गर्नुहुनेछ । र, आवश्यक निष्कर्ष निकाल्नुहुनेछ ।'

मन्त्री राईले सम्पदा जोगाउनेमात्रै नभएर विकास गर्नुपर्ने बताए । 'आजको ग्लोबलाइजेसनको जमानामा छौं, आधुनिकतालाई नअपनाएर पनि भएको छैन । आधुनिकता अपनाउँदा विविधता मासिएला कि भन्नेतर्फ दुनियाँ उन्मुख होला कि भन्ने चिन्ता हुन्छ । विविधतासहितको आधुनिकतातर्फ हामी उन्मुख हुनुपर्ने छ ।' मन्त्री राईले भने ।

सम्पदा जोगाउने विषयमा राज्यको टाउको माथिमात्र राख्दिएर नहुने उनले बताए । 'यो जिम्मेवारी प्रत्येक असल नागरिकको, सचेत नागरिकको जिम्मा हो,' मन्त्री राईले भने,'लोकल हेरिटेज भन्नाले सायद देखिने र नदेखिने हार्ड र सफ्ट दुईटै कुराहरु पर्छ होला । जसलाई हामीले जोगाउनुपर्छ ।' 

'स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा पत्रकारको भूमिका'

'स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा पत्रकारको भूमिका' विषयक एक दिने कार्यशालामा पत्रकार र सरोकारवालाले सांस्कृतिक सम्पदामाथि प्रस्तुत तीन प्रस्तुतीकरणमाथि छलफल गरेका छन् ।

चोमोलुङ्मा युनेस्को केन्द्रका अध्यक्ष हरिवंश किरातले सम्पदा र युनेस्को विषयक प्रस्तुतीकरण गरेका थिए ।  यस्तै युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगअन्तर्गत आम संचार समितिकी संयोजक नम्रता शर्माले स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा आमसन्चारको भूमिका विषयक प्रस्तुतीकरण गरेकी थिइन् । राष्ट्रिय आयोगका उपमहासचिव रामेश्वरप्रसाद यादवले युनेस्को र आयोगका इतिहास, युनेस्कोका आदर्श, उद्देश्यहरु, आमसन्चारको भूमिका, स्थानीय सम्पदाको विविधता, सांस्कृतिक, संरक्षण उपायहरुको खोजी, आमसंचारले संस्कृति संरक्षणमा गर्न सक्ने कार्यहरु र सम्पदा के हो ? भन्ने विषयमा प्रकाश पारेका थिए ।

कार्यपत्रमाथि पत्रकार गोपाल देवानले टिप्पणी गरेका थिए । उनले विकास निर्माणको मोडल सम्पदा मास्ने किसिमको रहेको बताए । सम्पदा मास्ने विकास निर्माणको मोडलले देखिने, नदेखिने राष्ट्रिय गौरव, पहिचान, सभ्यता र अस्तित्व खत्तम हुने बताए ।
हाल मुलुकमा सम्पदा विलोपीकरणको अवस्थामा पुगेको बताए ।

पत्रकार देवानले स्थानीय सम्पदा जोगाउन जोखिम रहेको बताउँदै ठोस नीतिको अभाव, ऐनकानुनको अभाव, खुल्ला अतिक्रमण, अतिक्रमणमा सरकार नै लागेको, विकासका नाममा सांस्कृतिक भूमिबाट आदिवासी विस्थापित हुँदा सम्पदा नै विस्थापित हुने अवस्था आएको बताए ।
पत्रकार हर्ष सुब्बाले पत्रकारितामा लेटरप्रेसदेखि एआई (कृत्रिम बौद्धिकता) सम्मको अनुभव सुनाएका थिए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको प्रमुख आतिथ्यमा भएको कार्यशालामा प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।