वराहक्षेत्रको चतराधाममा प्रत्येक बाह्र वर्षमा लाग्ने पूर्ण महाकुम्भको मूल समारोह समिति गठन गरिएको छ । नेपाल सरकारले सम्पर्कविन्दुका रुपमा कुम्भको संयोजकका रुपमा तोकेको प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोख्रेलको उपस्थितिमा शुक्रबार मूल समारोह समिति गठन गरिएको हो ।

जगदगुरु बालसन्तको अध्यक्षतामा गठन गरिएको मूल समितिमा सहअध्यक्ष वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की रहेका छन् ।

स्थानीय सरोकारवालाहरुको उपस्थितिमा राधाकृष्ण भक्ति साधना अध्यात्मिक प्रतिष्ठानको प्राङ्गणमा तत्काल दुई सदस्य र उपस्थित सबै सदस्य रहने गरी निर्णय सुनाइएको थियो ।
नगर प्रमुख कार्की र जगद्गुरु बालसन्तले थप छलफल गरेपछि समिति, उपसमिति विस्तार गरिने प्रतिष्ठानका महासचिव प्रह्लाद भट्टराईले जानकारी गराएका थिए ।

सो अवसरमा जगद्गुरु बालसन्तले नेपाल सरकारले कुम्भलाई राष्ट्रको धरोहर ठानेकोमा खुसी व्यक्त गरे । उनले भारतका प्रधानमन्त्री र मुख्यमन्त्रीलाई समेत निम्ता गरिने बताए । यसका लागि सरकारले राज्यका तर्फबाट पहल गर्न आग्रह गरे । उनले भारतमा कुम्भको सन्देश नेपाल सरकारको तर्फबाट दिनु पर्ने बताए ।

नेपाल सरकारका सचिव तथा कुम्भका संयोजक अर्जुन पोख्रेलले विकास निर्माणका काममा मातहतका कार्यालयलाई निर्देशन दिएको र
सरकारको तर्फबाट जिम्मेवारी तोकिएकाले जिम्मेवारीमा कमि नहुने आश्वस्त पारे । उनले मातहतका निकाय र कर्मचारीलाई निर्देशनसमेत दिदै आफूले सरकारको दूतका रुपमा काम गर्ने बताए ।

शान्ति सुरक्षा, न्युनतम आधारभूत कुरा पूरा गर्ने, व्यवस्थापनको पक्षमा काम गर्ने बताउदै उनले भने, 'यहाँको भावना अनुसार हामी र प्रदेश सरकार व्यवस्थापनमा लाग्ने छ, यो पहिलो बैठक हो । आगामी दिनमा थप छलफल, बैठक गर्दै जानेछौ ।'

सहाध्यक्ष मनोनयन भएपछि बोल्दै वराहक्षेत्रका नगर प्रमुख कार्कीले हिजोका कमजोरीबाट सिकेर यातायात, खानेपानी लगायत भौतिक पूर्वाधारमा कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
'सबै लागे कुम्भ उत्कृष्ट बन्न सक्छ,' नगर प्रमुख कार्कीले भने, 'हिजोका तीतामीठा बिर्सेर मैले गर्ने सबै कुरा गर्छु ।'

सङ्घ र प्रदेशले कुम्भका लागि सचिवालय बनाएर काम थालेकाले स्थानीय सरकार पनि सचिवालय सुरु गर्ने बताए । 'वराहक्षेत्रका स्थानीयको पहिलो भूमिका रहन्छ, मेरा ठाउँबाट सहयोग गर्छु ।' नगर प्रमुख कार्कीले भने । 

भेलाको बिट मार्दै जगदगुरु बालसन्तले विगतको जस्तो भद्रगोलको अवस्था बनाउन नहुने बताए । 'प्रत्येक दिनको हिसाब प्रत्येक साँझ गर्ने, समितिमा बस्ने सबैको दाबी हुन्छ तर भद्रगोल हुने अवस्था भएकाले काम गर्न सक्नेले मात्र बसौं ।'  उनले कुम्भ सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।

एक महिना भरि सबैका मोबाइलमा कुम्भको अवसरमा 'जाऔं जाऔं चतराधामको टोन' बजाइदिन बालसन्तले आग्रह गरे । उनले प्रधानमन्त्री कार्यालयका सचिव पोख्रेललाई आग्रह गरेपछि  सचिव पोख्रेलले व्यवस्था गर्न प्रतिबद्ध रहेको बताए ।

यसअघि नेपाल सरकारले सचिव पोख्रेलको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयका सचिव सदस्य रहेको केन्द्रीय सम्पर्क तथा समन्वय विन्दु गठन भएको छ ।

आयोजित भेलामा कोशी प्रदेशका सांसदहरु, प्रदेश मन्त्रालयका सचिवहरू, सुनसरीका प्रमुख जिल्ला अधिकारी, उदयपुरका सहायक प्रजिअ, प्रदेश र जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

बाह्र वर्षे पूर्ण कुम्भ आगामी चैत २७ देखि ०८१ वैशाख ३० गतेसम्म आयोजना हुँदैछ ।