विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट हुने भएको हो ।

प्याब्सनले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी स्पोर्ट्स मिटमा जिल्लाभरिका २ सय १० वटा प्याब्सनमा आबद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिने अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । ‘प्रत्येक वर्ष हुने प्याब्सन स्पोर्ट्स मिट निजी विद्यालयहरूको कुम्भ मेला जस्तै हो’ उनले भने, ‘मोरङ जिल्लाभरिका प्याब्सनमा आबद्ध भएका निजी विद्यालयहरूले प्रतियोगितामा भाग लिनेछन् । जसले गर्दा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुने गर्दछ ।’

तीन दिनसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, टी–टी सिङ्गल इभेन्ट र कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ । भलिबल छात्र÷छात्रा दुवै तर्फको हुने सचिव जगत बस्नेतले जानकारी दिए । यसैगरी प्याब्सन प्रेसिडेन्ट कप यु–१५ फुटबल पनि हुनेछ । फुटबलमा पालिकाबाट विजयी भई आएका विद्यालयले जिल्लामा भाग लिन पाउनेछन् । यसअघि स्थानीय पालिकाभित्र छनौट चरणको प्याब्सन प्रेसिडेन्ट कप यु–१५ भएको छ । यसैगरी कक्षा ११ र १२ को छात्रछात्रा भलिबल प्रतियोगिता पनि हुने भएको छ । प्रतियोगिताको एक दर्जन बढी खेलहरू सहिद मैदान, विराटनगर जुटमिलको खेलमैदान र एभरेष्ट कलेजको खेलमैदानमा हुनेछन् ।

प्रतियोगिताको उद्घाटन रङ्गशालामा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले गर्नेछन् । प्रतियोगिता भव्य तरिकाले सम्पन्न गर्नको लागि माघ २५ गते बिहान ११ बजेदेखि प्रमोसन र्याली पनि गर्ने अध्यक्ष सुवालले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।