मिराकल बास्केटबल क्लबको आयोजनामा आयोजित दोस्रो मिराकल थ्री वाइ थ्रीे बास्केटबल च्याम्पियनसिपको उपाधि ब्रदर्श क्लब ए टिमले चुुमेको छ ।

शनिबार सम्पन्न च्याम्पियनसिपको पहिलो र दोस्रो दुवै उपाधि माथि ब्रदर्श ए र ब्रदर्श बी टिमले कव्जा जमाएका हुन् । दुवै टिम फाइनल पुगेका ब्रदर्श एले ब्रदर्श बी टिमलाई फाइनलमा १५–११ अंकको अन्तरले पराजित गर्दै ए टिमले उपाधि आफ्नो बनाएको हो । ।

ब्रदर्श ए टिमले उपाधिसँगै नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी उपविजेता ब्रदर्श बी टिमले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी एमभिपिको उपाधि ब्रदर्श ए टिमका सर्वोधन राई घोषित भए । उनले एक थान बास्केटवल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट खेलाडीका लागि सुनसरी बास्केटबल संघले बास्केटबल उपलब्ध गराएका हुन् ।

विजेता तथा उपविजेता खेलाडीलाई नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य रोशन राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, मिराकल बास्केटबल क्लबका अध्यक्ष योक राईले पुरस्कार वितरण गरेका थिए ।

धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको सहयोगमा सम्पन्न प्रतियोगितामा धरान, विर्तामोड र तरहरा गरी २२ टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ स्थित धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा भएको थियो ।