चतराधामस्थित जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठमा आद्यजगद्‌गुरु स्वामी श्रीरामानन्दाचार्य भगवानको ७२४ औं प्राकट्य महोत्सवका अवसरमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।

कलिपावनावतार, भाष्यकार, कबीर, रैदास, तुलसी, मीरा लगायतका महापुरुषहरूका तत्वज्ञानदाता, भक्तिवैराग्यदाता, आद्यजगद्‌गुरु स्वामी श्रीरामानन्दाचार्य भगवानको ७२४ औं प्राकट्य महोत्सवको अवसरमा देश विदेशमा रहेका पीठ एवं प्रतिष्ठानका शाखाहरूमा विविध अनुष्ठानात्मक कार्यक्रम आयोजना हुने पीठले जानकारी दिएको छ ।

सो अवसरमा चतराधामस्थित पीठमा बिहान ५:३० बजे देखि १२ बजेसम्म श्रीरामचतिमानस पाठ, श्रीवैष्णवमताब्जभाष्कर पाठ, कीर्तन, षोडशोपचार पूजा आयोजन हुनेछ । यस्तै मध्याह्न  १२ बजे आरती र दिउँसो १ बजे भण्डारा प्रसाद वितरण गरिनेछ ।

'स्वयं भगवान राम नै रामानन्दार्चाय सम्प्रदायको एक्काइसौं आचार्यको रूपमा स्वामी रामानन्दाचार्यको यस धराधाममा प्रादूर्भाव भएको थियो, स्वामीजीको प्रकाट्य ब्रह्म मूर्हूतमा भएको हुनाले प्रेमा भक्ति सहितको संस्कार, संस्कृतिसहित पीठमा वैष्णमताब्जभाष्करः , पुरूषसुक्त आदिको पाठ सहित भगवानको विशेष अभिषेक , महाआरती, स्तुति लगायतका कार्यक्रम रहेका छन्,' पीठका सेवक अशोक शर्माले भने, 'विशेष कार्यक्रमसहितको महाआरती पीठका पीठाधिश्वर अनन्तश्री विभूषित जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाका करकमलबाट हुने छ।'

सो अवसरमा पीठका पदाधिकरीसहित स्थानीय धार्मिक , राजनीतिक, सामाजिक र बौद्धिक विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको सेवक शर्माले बताए ।

पीठका स्वदेशमा रहेका काठमाडौं, सुर्खेत, चितवन , पोखरा र विदेशस्थित क्यानडा, अमेरिका, अष्ट्रेलिया, डेनमार्क, बेलायतलगायतका शाखामा समेत भगवान रामानन्दाचार्यको प्राकट्य उत्सव भव्यताका साथ मनाउने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।