सङ्घीय सरकारले वराहक्षेत्रको चतरामा आगामी चैत २७ गतेदेखि १ महिना आयोजना हुने पिण्डेश्वर पूर्ण महाकुम्भ संचालनका लागि प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोख्रेललाई संयोजक तोकेको छ । 

कुम्भमेला सुरु हुन २ महिना समय रहँदा कुम्भमेलाको संयोजकमा सचिव पोख्रेललाई संयोजक तोकिएको जगदगुरु आश्रम गुरुकुलम् शङ्खमूलले जनाएको छ ।
संयोजक तोकिएपछि सचिव पोख्रेलले ललितपुरको शङ्खमूलस्थित जगद्गुरु आश्रममा उपस्थित भई आन्तरिक तयारीका लागि छलफल गरेको आश्रमले जनाएको छ ।

कुम्भमेला सुरु हुन २ महिना समय रहेकामा स्थानीय पूर्वाधार व्यवस्था गर्न  समय  लाग्ने  भएकाले संयोजक सचिव पोख्रेलले केही दिनभित्रै पूर्वाञ्चल क्षेत्रको भ्रमण गरी स्थानीय स्तरमा समेत  कुम्भमेला संचालन समिति गठन गर्ने विषयमा छलफल सम्पन्न भएको जगदगुरु बालसन्तको सचिवालयले जानकारी दिएको छ ।
आगामी  चैत २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म प्राचीन हरिद्वार चतराधाम बराहक्षेत्रमा १२ वर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेला लाग्दैछ ।

Kumbha sthal chatara

प्राचीन कालदेखि  चलिआएको तर  बीचमा लुप्त हुन गएको विश्वकै पाचौं कुम्भमेला नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले २०५९ सालमा पुनर्जागरण गरेका हुन् ।

त्यसपछि नेपाल सरकारको संयोजनमा  २०७०-७१ मा  दोस्रो पूर्ण महाकुम्भ सम्पन्न भएको थियो । आगामी पूर्णकुम्भ २०८०/८१ मा  तेस्रो पूर्ण कुम्भमेलाका रुपमा संचालन हुँदै छ । 

दोस्रो पूर्ण कुम्भमेलामा प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव कृष्णहरि बास्कोटालाई संयोजक तोकिएको थियो । यसपटक समेत सरकारले प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोख्रेललाई संयोजक  तोकिदिएको छ ।

हाल चतरामा पहिलो पूर्ण महाकुम्भको प्रतीक ५९ फिट अग्लो कुम्भस्तम्भ रङरोगनको कार्य थालिएको छ भने स्थानीय परिसर सौन्दर्यीकरणको काम सुरु भएको छ । एक वर्ष अघि नै स्थानीयहरुको बैठक बसी पूर्णकुम्भको तयारीबारे छलफल सुरु भए पनि ढिला गरी कुम्भको तयारी सुरु भएको हो ।