धरान । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको स्पोर्ट्स मिट २०८० अन्तर्गत हिसान रनमा छात्रतर्फ धरान मेघा हिमालयन कलेजका संयोगहाङ राई र छात्रातर्फ कोशी सेन्टजेम्स स्कुलकी आयुसा प्रधान प्रथम भएका छन् ।

इटहरीमा आइतबार भएको ५ किलोमिटर दौडमा छात्रतर्फ एम्स एकेडेमी धरानका प्रताप राई र छात्रातर्फ धरान मेघा कलेजकी शुभेक्षा राई दोस्रो भए भने तेस्रोमा छात्रतर्फ सुनाखरी एकेडेमी धरानका उज्वल राई र छात्रतर्फ सीबी कलेज इटहरीकी तुलसा खड्का भए । प्रथम हुनेले नगद १० हजार, द्वितीयले ५ हजार र तेस्रोले ३ हजार नगद पुरस्कार पाए ।

धरान रनको प्राविधिक सहयोगमा आइतबार सम्पन्न रनका विजयी धावक धाविकाहरूलाई हिसानका केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, केन्द्रीय सदस्य मुकुन्द घिमिरे, सुनसरी अध्यक्ष सागर भट्टराई, इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर शम्भु बस्नेतलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा सुनसरीका विभिन्न उच्च मा.वि.का २ सय ५० धावक–धाविकाहरूको सहभागिता रहेको कार्यक्रम संयोजक सुवास लुइटेलले जानकारी दिए ।