गोधुली फुटबल रनिङ कपको २४ औं संस्करण भोलि माघ १३ गते सुरु हुँदैछ । दुई साता बढी चल्ने प्रतियोगिताको आगामी २७ गते फाइनल हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ ।

२०४२ सालमा स्थापित गोधुली क्लबले २०५० सालदेखि प्रतियोगिता सुरु गरेको हो । यो संस्करणमा धरानका वडागत प्रतिनिधित्व गर्ने १८ टिम सहभागी हुने निश्चित भएको छ । आयोजकले खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा धरान-२ र १५ बाहेकका टिम सहभागी हुँदै छन् । उद्घाटन खेलमा हालसम्म उपाधिविमुख धरान-५ र धरान-७ भिड्दैछ्न् ।

अघिल्लो संस्करणमा भन्दा नबढाई पुरस्कार राशि राखिएको प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः १ लाख ५० हजार र ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र रनिङ शिल्ड प्राप्त गर्नेछन् ।

विधागततर्फ बेस्ट प्लेयरले १५ हजार रुपैयाँ, हाइस्कोररले ७ हजार ५ सय र बेस्ट डिफेन्डर, म्यान अफ द म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, वेस्ट स्ट्राइकर, राइजिङ प्लेयर र बेस्ट मिडफिल्डरले जनही ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

धरानमा फुटबल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रतियोगिको सबैभन्दा बढी धरान १९ ले ६ पटक उपाधि जितेको छ भने डिफेन्डिङ च्याम्पियन धरान- १७ ले चार पटक उपाधि जितिसकेको छ । यस्तै धरान- ८ ले चार पटक र ११ ले तीन पटक उपाधि जितिसकेको छ ।

प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गर्ने १ पत्रकारलाई औपचारिक समापन समारोहमा 'सुवास राई स्मृति पत्रकारिता पुरस्कार' बाट समान गरिने क्लबका अध्यक्ष देशकुमार राईले जानकारी दिए । यस्तै प्रतियोगितामा धरान- १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीणले विजेता र उपविजेता टिमलाई पुरस्कार राशिमा २५ हजार रुपैयाँ थप गरी दिने आयोजकको भनाइ छ ।