राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको चाकरीबाट मुलुकको स्वाधीनताको रक्षा हुन नसक्ने बताएका छन् । मुलुकले अहिले राष्ट्रवादी शक्तिहरुको स्वाभिमानी आन्दोलन खोजिरहेको टिप्पणी गर्दै अध्यक्ष थापाले उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानसँगै आन्दोलनको तयारीमा युद्धस्तरमा जुट्न निर्देशन दिएका छन् ।

अहिले आन्दोलनको लागि समय अनुकूल भएको भन्दै थापाले मनपरितन्त्र र ब्रम्हलुटले सीमा नाघेका कारण जनता अहिलेको व्यवस्था र प्रणालीबाट वाक्क दिक्क भएको समेत बताए । 

अध्यक्ष थापाले अहिले मुलुकमा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको निमित्त आन्दोलनको विकल्प नभएको भन्दै परिवर्तन पक्षधरहरु एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनु पर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रमा बोल्दै थापाले एक्लै–एक्लै आन्दोलनमा जाँदा प्रभावकारी नभएको तथा विगतको लामो अभ्यासले पनि त्यो पुष्टि भएको बताए । 

उनले निर्णायक आन्दोलनमा जानको लागि मोर्चा निर्माण गर्न जरुरी भएको विचार व्यक्त गरे । एक्ला–एक्लै विभक्त भएर आन्दोलन गर्ने कुरोले अहिलेको विकृति र बेथितिलाई नै मलजल हुने अध्यक्ष थापाको भनाइ थियो । 

‘मुलुक ब्रम्हलुटको यथास्थितिमै अघि बढिरहने भएको हुँदा परिवर्तन चाहने शक्तिहरु, एजेन्डा मिल्ने शक्तिहरु, सबै राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रजादीहरु मिलेर मोर्चा निर्माण गरी आन्दोलनमा जानुको विकल्प छैन,’ अध्यक्ष थापाले भने,‘एक्ला एक्लै आन्दोलन गर्ने भनाइले अप्रत्यक्ष रुपमा राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डालाई कमजोर बनाउँछ ।’ 

काठमाडौंको १० वटै क्षेत्रमा १५ दिनभित्र कार्यक्रम राखिने पार्टीले जनाएको छ ।