धनकुटा । सरकारले धनकुटामा रहेका विभिन्न कार्यालयलाई अन्यन्त्र सार्न लागेको भन्दै नेकपा (एमाले) जिल्ला कमिटी धनकुटा आक्रामक देखिएको छ ।

सरकारले पाख्रीबास नगरपालिकामा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम र धनकुटा नगरपालिकामा रहेको तथ्याङ्क कार्यालयलाई अन्यत्र सार्न खोजेको भन्दै आइतबार पत्रकार सम्मेलन गरेर विरोध गरेको हो । सरकारले अनुसन्धान कार्यालयलाई इलाम र तथ्याङ्क कार्यालय खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा सार्न लागेको एमालेको विज्ञप्तिमा उल्लेख छ । सरकारको उक्त निर्णय तत्काल फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रने एमालेले चेतावनी दिएको छ । एमालेले माघ १५ गते सर्वदलीय बैठक राखेर १६ गते धनकुटामा विरोध ¥याली तथा जनसभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

सबै प्रक्रिया पुगेर पनि धनकुटामा एक सय शøयाको अस्पताल निर्माणमा समेत अहिलेको सरकारले बेवास्ता गरेको एमाले केन्द्रीय सदस्य एवम् सङ्घीय सांसद् राजेन्द्रकुमार राईले आरोप लगाए । उनले भने, ‘धनकुटाको विकासको लागि अहिलेको सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन ।’ सरकारले आफ्नो निर्णय नसच्याए चरणबद्ध आन्दोलनमा उत्रिने नेकपा (एमाले) धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए । आइतबार नै एमालेले धनकुटा जिल्लाबाट प्रदेश, सङ्घ र सात स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएको छ ।

नेकपा (एमाले)को ज्ञापन–पत्र बुझ्दै धनकुटाका प्रजिअ पुण्यविक्रम पौडेलले कार्यालय स्थानान्तरणसम्बन्धी सरकारबाट कुनै निर्णय नआएको र जिल्लाबासीको मागलाई आफूले तत्काल सरकारलाई पठाइदिने जानकारी दिए । यसअघि तत्कालीन सरकारले २०४९ सालमा हालको उच्च अदालत, साविक क्षेत्रीय अदालतलाई धनकुटाबाट विराटनगर सारेको थियो ।

त्यसैगरी धनकुटामा रहेको भौतिक पूर्वाधार कार्यालय भोजपुर र सिँधुवा बजारमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (तरकारी जोन) कार्यक्रम तत्कालीन सरकारले रातारात २०७८ सालमा तेह्रथुम सारेको थियो ।