कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा जारी पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेको भोलिपल्टै आज नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत पक्षसँग भेटवार्ता गरेका छन् ।
विराटनगरस्थित निवासमा उनले प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका शीर्ष नेताहरूसँग दुई घन्टाभन्दा बढी समय छलफल गरे । छलफल सकेर बाहिरिएका पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले पहिचानका विषयमा कोइराला सकारात्मक रहेको प्रतिक्रिया दिए ।

नेता कोइरालाले प्रदेशको नाम कोशी जबरजस्ती राखिएकोबारे आफू जानकार रहेको छलफलमा बताएको पहिचानवादी नेता विष्णु थाम्देनले जानकारी दिए ।

‘तपाईंहरूको माग एकदमै जायज छ, पुनः नामकरणको तपाइँहरूको मागप्रति म सकारात्मक छु। आफ्नो ठाउँबाट म सहयोग गर्नेछु, भन्नू भयो’ कोइरालासँगको वार्तापछि प्रतिक्रिया दिंदै नेता थाम्देनले भने, 'विश्वका अरु मुलुकमा पनि जातीय तथा सांस्कृतिक पहिचान सुनिश्चित गरिएको छ, भाषा तथा लिपीहरू सुरक्षित गरिएको छ, संघीयताको आधारभूत कुरै त्यही हो, यसलाई सच्याउने कुरामा मेरो भूमिका रहनेछ, भन्नुभयो ।’
उनले कोशी नाम खारेजीको शुभसङ्केत पाएको बताए । 

छलफलबारे नेता कोइरालाले भने विस्तृत प्रतिक्रिया दिन मानेनन् । उनले भने, ‘उहाँहरुले सबै कुरा भनिसक्नुभयो, कुरै त्यत्ति हो ।'

कोशी प्रदेशमा पहिचानवादी आन्दोलनकारीले पहिचानमा आधारित नाम पुनः नामकरण गर्नुपर्ने माग गरिरहेका छन्। पुनःनामकरणको माग गर्दै भएको आन्दोलनमा पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो। उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ। आन्दोलनका क्रममा सयौं घाइते भइसकेका छन्।

त्यसयता आन्दोलनकारीले नामकरणका बेला कोशीका पक्षमा मतदान गर्ने ८२ जना प्रदेश सांसद र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र महेश बस्नेतलाई प्रदेशमा अवरोध पुर्‍याउने घोषणा गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकालमा दुई चरणमा वार्ता भएयता राजनीतिक अस्थिरताका कारण प्रदेशमा वार्ता हुन सकेको थिएन। सरकारले जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने गरी समिति बनाएको छ।