राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गरेको छ । विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले दबाब यात्रा गर्न लागेको हो । 

२७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गर्दै रास्वपाले आयोजनाबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ छन् । दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकसहित धरहरा र मेलम्ची खानेपानी आयोजनालगायत छन् । 

सभापति रवि लामिछानेले पार्टीका २१ जना सांसदले एक–एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने बताएका छन् । यसअघि सभापति लामिछानेको नेतृत्वमा नारायणगढ–बुटवल सडकखण्डमा पदयात्रा गरेको रास्वपाले थप आयोजनाहरुको सूची पनि सार्वजनिक गरेको हो ।

‘पटक–पटक अवधि थपिएको, सम्पन्न हुन नसकेको योजनाहरुमा दबाब यात्रा गरेर सरकारलाई खबरदारी गर्ने दबाब यात्राबको उद्देश्य हो ।’ रास्वपाका उपसभापति डीपी अर्यालले भने । दबाब यात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने अर्यालले जानकारी दिए । 

यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए यसअघि पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा ११३ किलोमिटर पदयात्रा गरेको थियो ।