सुनसरीको धार्मिक पर्यटकीय स्थल वराहक्षेत्रमा पिण्डेश्वर पूर्ण महाकुम्भको अवसरमा विश्वप्रसिद्ध बागेश्वर धाम सरकारका नामले परिचित धिरेन्द्र कृष्ण शास्त्रीको आगमन हुने भएको छ । 

चतराधामस्थित जगदगुरु रामानन्दाचार्य सेवा पिठले यसको चाँजोपाँचो मिलाउँदैछ । पिठका पिठाधीश जगद्गुरु महायोगी सिद्धबाबा श्री रामकृष्णाचार्य कृष्णदासजी महाराजले आन्तरिक तयारी भइरहेको जानकारी दिएका छन् । पिठस्थित हनुमान मन्दिर परिषरमा विगत एक वर्षदेखि हनुमानजीको १ अर्ब मन्त्र जाप हुँदैछ । सोही स्थानमा सङ्कट मोचन हनुमत महायज्ञको आयोजना हुनेछ ।  

विश्व प्रसिद्ध बागेश्वर धाम सरकारले आगामी वैशाख महिनामा पिण्डेश्वर पूर्ण महाकुम्भको अवसरमा धार्मिक प्रवचन गर्ने कार्यक्रम रहेको छ । 

‘उनलाई यहाँ ल्याउँदा विश्वभरका मिडियाबाट एक अर्बभन्दा बढी व्यक्तिमा प्रत्यक्ष पुग्न सकिन्छ, वराहक्षेत्रलाई हामी एक अर्बभन्दा बढी व्यक्तिमा लाइभ पुर्याउँछौं,’ सिद्धबाबाले भने, ‘त्यतिबेला हामी चिच्याई चिच्याई कौशिकीको महिमा, वराहक्षेत्रको महिमा, विष्णुपादुकाको महिमा, दन्तकाली, पिण्डेश्वरको महिमा गान गर्छौं, मैनामैनीको महिमा गान गर्छौं, नेपालको संस्कार संस्कृतिको महिमा गाउँछौं ।’ 

सो अवसरमा वराहक्षेत्रमा १० लाखदेखि २० लाख भक्तजन एकैचोटि उपस्थित हुने अनुमान गरिएको छ । 

‘त्यति ठूलो उपस्थिति हुन्छ । वराहक्षेत्र सेरोफेरो कहीँ पाइला हाल्ने ठाउँ हुँदैन । यसलाई व्यवस्था गर्नका निम्ति अहिले हामी पूर्व आन्तरिक कार्यमा छौं,’ सिद्धबाबाले भने, ‘अहिले मैले ग्रामभेला गरेको छैन । पहिले हामीले माइण्ड मेकअप गर्ने अनिमात्रै सबैमा प्रस्ताव राख्ने र फाइनल गर्ने हो ।’ 

आगन्तुकको अनुमानित सङ्ख्यालाई विश्लेषण गरी पार्किङको व्यवस्था मिलाउने, कम्तिमा पिठक्षेत्रमा ३० हजार मान्छेको आवासको व्यवस्था गर्ने, होमस्टेको अभियान अगाडि ल्याउनेलगायतका तयार गर्न आवश्यक रहेको उनले बताए । आगन्तुक सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाउन र दिनको २ लाख मान्छे उभिने ठाउँ तयार गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

त्यसका लागि आठ लाख स्क्वायर फिट, १० बिघाको खुला क्षेत्र निर्माण गर्ने र ५ बिघा जग्गामा टेन्ट हाल्ने प्रक्रिया अगाडि बढाउन स्थानीयसँग छलफल गरिएको सिद्धबाबाले जानकारी दिए । 

उनका अनुसार एलइडी, साउण्ड सिस्टम, लाइट, शौचको व्यवस्थापन गरिनेछ । दैनिक एक लाख व्यक्तिले सामान्य अवस्थामा भोजन गर्ने व्यवस्था मिलाइने छ । दुई लाख मान्छे एक साथ जम्मा भएर यज्ञमा भाग लिन सक्ने व्यवस्था मिलाइने छ । स्वयम् सेवक, सुरक्षा व्यवस्थाको चाँजोपाँजो गरिने छ  । 

सङ्कट मोचन हनुमत महायज्ञले नेपालकै गरिमा अभिवृद्धि गर्ने सिद्धबाबाको भनाइ छ । ‘धिरेन्द्रकृष्ण शास्त्रीले यो ठाउँमा उभिएर यहाँको महिमा गाइदिएपछि सबैको हृदयमा यहाँको प्रति प्रेम जाग्छ,’  सिद्धबाबाले भने, ‘यो कार्यक्रम गरिसकेपछि अन्तर्राष्ट्रिय मिडियामा १ अर्ब हिन्दूमा कार्यक्रम जान्छ, यहाँको भव्य रुपमा भिजुअलाइज गर्ने व्यवस्था मिलाएको छु ।’ 

महायज्ञका लागि १ रुपैयाँ पनि हालसम्म सरकारी बजेट नआएको सिद्धबाबाले बताए । महाकुम्भको अन्तर्राष्ट्रिय अभ्यास हेरेर पनि सरकारले तदारुकता देखाउनु पर्ने सिद्धबाबाको भनाइ छ । सबै सम्प्रदाय अटाउन सक्ने र सबैले अपनत्व लिन सक्ने पूर्ण महाकुम्भ आयोजन हुनुपर्ने उनी बताउँछन् । महाकुम्भ आयोजनामा राज्य उत्तरदायी हुनुपर्ने उनको भनाइ छ । 

माघ ८ गते तदनुसार सन् २२ जनवरी २०२४ मा भारतको अयोध्यामा हुने भगवान श्रीरामको बाल स्वरूपको नूतन श्रीविग्रहको प्राण प्रतिष्ठा समारोहमा उपस्थितिका लागि सिद्धबाबा भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यस अघि बागेश्वर धाम सरकारसँगको भेटमा पूर्ण महाकुम्भको अवसरमा चतराधाम आगमनका लागि सिद्धबाबाले प्रस्ताव गरेको रामानन्दाचार्य सेवा पीठले जनाएको छ ।