धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङग राईले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षामा ताला लगाएका छन्।

मेयर साम्पाङ एक्लै प्रतिष्ठान पुगेर  शिक्षक, कर्मचारी र डाक्टरहरुको आन्दोलनप्रति सहमत जनाउदै उपकुलपतिको कार्यकक्षमा गएर ताला लगाएका छन्। उनले उपकुलपति कार्कीले शिक्षक, कर्मचारी र डाक्टरहरुको मागलाई बेवास्ता गरि माग सम्बोधन नगरेको भन्दै तालाबन्दी गरेको बताएका छन्। उनले लगाएको ताला आफू बाहेक कसैले नखोल्न समेत चेतावनी दिएका छन्। 

आवश्यक परेको खण्डमा मेयर साम्पाङले आफै आएर ताला खोल्ने बताएका छन्। ‘बिपि अस्पतालको भिसि नलुकी ढिलो नगरि बाहिर निस्केर निकास दिनु कि राजिनामा दिनु नत्र खोजेर घिसार्दै निकाल्नु नपरोस्,  नाम नविर्सनु है ।’  मेयर साम्पाङले  सामाजिक सञ्जाल फेसबुकबाट चुनौती दिएका छन्।

उनले बीपी प्रतिष्ठानलाई कमजोर बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने मेयर साम्पाङको भनाइ रहेको छ। उपकुलपतिको कार्यकक्षमा ताला लगाएपछि मेयर साम्पाङ आफ्नो कार्यालयमा फर्केका थिए।

३ महिना अगाडि गरेको  समति अनुसार बढुवाको  प्रक्रिया अगाडी  नबढेपछि प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनमा छन्। प्रतिष्ठानको आकस्मिक कक्ष, ल्याब, एक्स–रे बाहेकका सम्पूर्ण उपचारका सेवा बन्द गरेर उनीहरूले आइतबार ओपीडीको चाबी समेत  अस्पताल प्रशासनलाई बुझाएका छन्। प्रतिष्ठानमा कार्यरत १ सय ७७ शिक्षक र १ हजार २ सय कर्मचारीको बढुवा रोकिएको छ।