कोशी प्रदेशको सभामुखमा राप्रपाका अमरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।  कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् ।

गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो  ।

सोही निर्णयको आधारमा बिहान १० बजे बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्वाचन सम्बन्धी तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अनुसार सार्वजनिक भएको निर्वाचन तालिका अनुसार आज दिउँसो ३:०० बजे निर्वाचन राखिएको थियो । सो सूचना अनुसार विष्टले उम्मेदवारी दिएका थिए ।

दिउँसो ३:३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरेकी हुन् ।

यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा एमालेका प्रदीप भण्डारी पूरा कार्यकाल सभामुख बनेका थिए । प्रदेशको अहिलेको कार्यकालमा माओवादीका बाबुराम गौतम सभामुख बनेका थिए ।
गएको साउन १६ मा तत्कालीन सभामुख गौतमले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन पदबाट राजीनामा दिएपछि प्रदेशको सभामुख पद खाली थियो ।पाँच महिनादेखि रिक्त प्रदेशको सभामुख पदमा चयन भएको हो ।