विराटनगर । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार कोशी प्रदेशसहित सातै प्रदेशस्थित निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले सिट बाँडफाँट गरी साझा उम्मेदवार तय गरी उम्मेदवारी दिएका हुन् ।

कोशीमा दुई सिटको लागि हुने निर्वाचनमा पाँच जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अन्यमा तीन जना र महिलामा दुई जनाको उम्मेदवारी परेको उनले बताए ।

कोशीमा सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सोमबार १० बजेर २१ मिनेटमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए । सिटौलाले साइत हेरेर उम्मेदवारी दर्ता गरेका थिए भने १२ बजेतिर माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्कीले उम्मेदवारी दर्ता गरेकी हुन् । सिटौलाको प्रस्तावकमा काङ्ग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा काङ्ग्रेसकै प्रदेशसभा सदस्य हिमाल कार्की छन् । यस्तै कार्कीको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र समर्थकमा नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य रामकुमार खत्री छन् ।

सत्तारुढ गठबन्धनको भागबण्डाअनुसार कोशीमा हुन लागेको राष्ट्रिय सभाको २ पदमध्ये अन्यतर्फ सिटौलाले र महिलातर्फ कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् ।

एमालेबाट अन्यतर्फ भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रुक्मिणि कोइरालाले उम्मेदवारी दर्ता गराए । अधिकारीको प्रस्तावकमा प्रदेश सांसद् सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी रहेका छन् । कोइरालाको प्रस्तावकमा रामप्रसाद मेहता र समर्थकमा शीला दीक्षित कार्की छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका उपाध्यक्ष रहेका उद्धव पौडेलले अन्यमा उम्मेदवारी दर्ता गराएका छन् ।  

कस्ता छन् दलले उठाएका उम्मेदवार ?
राष्ट्रिय सभामा माओवादीले उम्मेदवार उठाएकी कार्की पार्टीकी केन्द्रीय सदस्य एवम् ओखलढुङ्गा इञ्चार्ज हुन् । उनी जनयुद्धको समयबाटै माओवादी आन्दोलनमा जोडिएकी नेतृ हुन् । आशा उपनामले जनयुद्धको समयमा चिनिने उनी जनयुद्धकी घाइते योद्धासमेत हुन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएकी ओखलढुङ्गाको मूलखर्ककी ५० वर्षीया कार्की अब राष्ट्रिय सभाको सदस्य हुने करिब निश्चित देखिएको छ ।

नेकपा (एमाले)बाट साविक मूलखर्क गाविस वडानम्बर ६ मा महिला सदस्यका रूपमा निर्वाचित भएको करिब २६ वर्षपछि उनी राष्ट्रियसभामा पुग्न लागेकी हुन् । प्रदेशमा गठबन्धनको मतभार प्रतिस्पर्धी एमालेभन्दा फराकिलो अन्तरले धेरै रहेकोले उनको विजय करिब निश्चितजस्तै छ  । जनयुद्धमा भएको लडाइँको क्रममा उनले आफ्नो दाहिने हात गुमाएकी छन् । २०५७ को वैशाखमा छापामारका रूपमा ‘होलटाइमर’ बनेर जनयुद्धमा होमिएकी उनी २०५८ सालमा रामेछापको धोवीचौकी मोर्चामा घाइते भएकी थिइन् । त्यही लडाइँमा उनको हात गुमेको हो ।

कोशीकै अन्यतर्फको कोटामा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका नेता सिटौला पूर्वमन्त्री हुन् । उनी झापा ३ बाट गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । यसअघि राष्ट्रपतिको पनि आकाङ्क्षी रहेका सिटौलाले राष्ट्रपति रामचन्द्र पौडेल भएपछि राष्ट्रियसभामा जान लागेका हुन् । चुनाव हारेकालाई लैजान नहुने मत काङ्ग्रेसभित्र भए पनि काङ्ग्रेसको गत महाधिवेशनदेखि सभापति देउवालाई सहयोग गर्दै आएका सिटौलालाई कसैले रोक्न सकेन ।

नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान गरेका सिटौला पूर्वगृहमन्त्री पनि हुन् । उनले २०७२ को संविधान निर्माणमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।

कोशीबाट नेकपा (एमाले) को अन्यतर्फबाट उम्मेदवार बनेका भोजपुरका अधिकारी एमालेको केन्द्रीय सदस्य एवम् जिल्ला सह–इञ्चार्ज छन् भने महिलामा सुनसरीकी रुक्मिणि कोइराला इटहरी निवासी महिला नेतृ हुन् । उनले गत स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको उपमेयरको दाबी गरेपनि टिकट पाएकी थिइनन् ।

कोशीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका पार्टीका उपाध्यक्ष रहेका पौडेल चलचित्रकर्मीसमेत रहेका छन् । पौडेल विराटनगरका मतदाता भए पनि उनी पछिल्लो समय काठमाडौंमै बस्दै आएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा हुन् ।

यस्तो छ कोशीको मतभार
राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद् गरी कुल ३ सय ६७ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

प्रदेशमा प्रदेशसभाका ९३ सांसद्मध्ये एमालेका ४०, काङ्ग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाको १ जना छन् । सांसद्हरूतर्फ एमालेको २ हजार १ सय २०, काङ्ग्रेसको १ हजार ५ सय ३७, माओवादीको ६ सय ८९, राप्रपाको ३ सय १८, एकीकृत समाजवादीको २ सय १२ र जसपाको ५३ मतभार रहेको छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका १ सय ३७ पालिकाका २ सय ७४ मध्ये एमालेका १ सय १०, काङ्ग्रेसका १ सय १५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २ हजार ९०, काङ्ग्रेसको २ हजार १ सय ८५, माओवादीको ५ सय ८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १ सय ३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा एमालेको कुल मतभार ४ हजार २ सय १०, नेपाली काङ्ग्रेसको ३ हजार ७ सय २२ र माओवादी केन्द्रको १ हजार २ सय ७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३ सय ४५, राप्रपाको ३ सय ९४, जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५ हजार ४ सय ८३ मतभार हुनेछ । जुन एमालेको भन्दा १ हजार २ सय ६४ ले बढी हो ।