नेकपा एमाले निकटको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा ताप्लेजुङका हरि थलङ सर्वसम्मत निर्वाचित भएका छन् ।

मोरङको सुन्दरहरैंचामा शनिबार सम्पन्न अधिवेशनबाट थलङको नेतृत्वमा १ सय १ सदस्यीय कोशी प्रदेश कमिटी सर्वसम्मत चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा ओखलढुङ्गाका मनिराज राई, सचिवमा सुनसरीका नुलाम राई (पशुपती), उपसचिवमा तेह्रथुमका धिरेन्द्र गुरुङ र उदयपुरका हिमकुमार मगर चयन भएका छन । यस्तै कोषाध्यक्षमा झापाकी लक्ष्मी मेचे सर्वसम्मत चयन भइएकी छन् ।

अधिवेशनले मोरङ र सुनसरीबाट ३ महिलासहित ७/७ जना, इलाम र उदयपुरबाट दुई महिलासहित ५/५ जना, खोटाङ  ओखलढुङा, भोजपुर र तेह्रथुमलगायत अन्य जिल्लाबाट १ महिलासहित ३/३ जना सदस्य सर्वसम्मत चयन भएका छन् ।

यस्तै खुलाबाट १२ र भगिनी सङगठनबाट २४ जना गरी १ सय १ सदस्यीय कमिटी चयन गरिएको महासङ्घका नवनिर्वाचित सचिव नुलाम राईले  जानकारी दिए ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, शेरधन राई, शिवमाया तुम्बाम्फे, हिक्मत कार्की, महासङ्घका केन्द्रीय अध्यक्ष पासाङ शेर्पालगायतको उपस्थिति रहेको थियो ।