भद्रपुर । मेचीनगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नभएका कारण कार्यसम्पादनमा समस्या आएको छ ।

केही दिनदेखि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको विवाद उत्कर्षमा पुगेपछि समस्या आएको हो । विवाद उत्पन्न भएपछि एमाले मेचीनगर कमिटीले मङ्गलबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । निर्वाचित जनप्रतिनिधि र कर्मचारीतन्त्रबीचको तालमेल नहुनु एवम्  कार्यसम्पादनमा समस्या आउनु मेचीनगरको प्रमुख समस्या देखिएको पत्रमा उल्लेख छ । एमाले प्रदेश कमिटी सदस्य देवकुमार राईसहित नगरपालिका पुगेको एमाले मेचीनगरको समूहले नगरप्रमुख बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएको छ ।  एमाले नगरकमिटीले लामो समयदेखि समस्यामा रहेको नदीजन्य वस्तु र ढङ्गागिट्टी प्रकरणमा आवश्यक नीति निर्माण गरी तत्काल समाधान गर्न ध्यानाकर्षण गराएको हो ।

एमाले नगर अध्यक्ष राजु पोखरेलले हस्ताक्षर गरेको पत्रमा नेकपा (एमाले)बाट बहुमत निर्वाचित जनप्रतिनिधिहरूले प्रतिनिधित्व गरेको मेचीनगरमा किन जनताका काम कारबाही दुरुस्त, प्रभावकारी र सहज हुन सकेनन् ? जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय अभावलाई अविलम्ब व्यवस्थापन गरी कार्यसम्पादन सहज बनाउन एमालेले ध्यानाकर्षण पत्रमार्फत् माग गरेको छ । त्यस्तै नदीजन्य सामग्री तत्काल सहज बनाई खुला गर्न, नगर परिषद्बाट पारित नीति निर्देशिका कार्यविधिहरूले तोकेका विकास र प्रतिनिधित्वसँग सम्बन्धित विभिन्न समिति, प्रतिष्ठान, आयोग, कार्यदलहरू अविलम्ब गठन गर्न र गठन भएका विभिन्न समितिका, प्रतिष्ठानहरूलाई तत्काल प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

त्यस्तै जनताले नगरपालिकाबाट पाउने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउँदै सुशासनको प्रत्याभूति दिन तथा कर्मचारीतन्त्रलाई चुस्त दुरुस्त बनाउँदै जनताप्रति उत्तरदायी बनाउन पनि ध्यानाकर्षण गराइएको छ । नगरको नदीजन्य सामग्री उत्खनन् र बिक्रीका विषयमा उत्पन्न विवादले उग्ररूप लिएपछि सोमबार नगरपालिकापरिसर दिनभरजसो तनावपूर्ण थियो । ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख बुढाथोकीले आफूहरू आउनुभन्दाअगाडि कै समस्याका कारण नदीजन्य सामग्रीको सही व्यवस्थापन हुन नसकेको बताए । ‘यो समस्या हामी निर्वाचित हुनुभन्दाअघिकै हो’ नगरप्रमुख बुढाथोकीले भने, ‘यसलाई टुङ्गोमा पुर्याउन केही समय लाग्नेछ ।’

नदीजन्य पदार्थ उत्खनन् प्रमुख समस्या
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नटिक्ने विषय रहँदारहँदै जनप्रतिनिधि र हालका प्रमुख प्रशासकीय अधिकृतबीच नै तनावको स्थिति उत्पन्न भएको छ । माहोल तनावपूर्ण बनेपछि प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई प्रहरीले आफ्नै गाडीमा राखेर नगरपालिका कार्यालयबाहिर लगेको थियो । जिल्ला प्रशासन कार्यालय, झापामा पुगेर रेग्मीले प्रमुख जिल्ला अधिकारीसँग आफ्ना कुरा राखेको बुझिएको छ ।

असोज १ गतेबाट खोला खोल्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृतका कारण खुल्न नसकेको व्यवसायीहरूको आरोप छ । आर्थिक वर्ष ०७९÷८० मा नगरले ठेक्का लगाउन नसक्दा करिब ७ करोड घाटा व्यहोर्नु परेको थियो । ०७८/७९ मा ठेक्का लिने कम्पनीहरूले समेत बाहिर स्टक गरेको नदीजन्य सामग्री बिक्री गर्न नपाएको निर्माण व्यवसायी राजकुमार थापाले जानकारी दिए । उनका अनुसार नगरको लापरबाहीका कारण व्यवसायीले करोडौं नोक्सानी व्यहोर्नुपरेको छ । दुई दिनअघि थापाले हाकिम रेग्मीलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । एमालेका युवा नेता राजु कार्कीले नगरप्रमुखमाथि हदैसम्मको अभद्र व्यवहार देखाएको बताए ।

टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत
मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्ने स्थानीय तहका रूपमा बदनाम भइसकेको छ । कार्यालय प्रमुख सबैभन्दा धेरै परिवर्तन भइरहने स्थनीय तहमध्ये मेचीनगर सबैभन्दा अग्रस्थानमा रहेको छ । पछिल्लो पटक पनि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा टेककुमार रेग्मी आएपछि पनि मेचीनगर नगरपालिका कार्यालयको हालत उही छ ।

रेग्मीअघि राजकपुर चम्लागाईं मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका थिए । तर, आएको केही महिना पनि नहुँदै नगरपालिकाका जनप्रतिनिधिहरूले नै उनलाई खेदाए । चम्लागाईंअघि मेचीनगरमा सुरेश दाहाल प्रमुख प्रशासकीय अधिकृतका रूपमा आए । उनी पनि धेरै समय टिक्न सकेनन् । उनले पनि पाँच महिनामै सरुवा लिएर अन्यत्र गए । दाहालपछि लामो समय मेचीनगर प्रमुख प्रशासकीय अधिकृतविहीन भयो । जसोतसो गरेर आँट गरेर भए पनि आएका प्रमुख प्रशासकीय अधिकृत टिक्नै सक्दैनन् । प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका सहदेव रायमाझी, दिनानाथ लम्साललगायतको पनि छोटो समयमै सरुवा भएको थियो । अलि समय टिकेका प्रमुख प्रशासकीय अधिकृत भने खेमराज ओझा र महेन्द्र खाम्याहाङ मात्र हुन् ।