विजयपुर । धरानका नगरप्रमुख हर्क साम्पाङले जुवाजन्य खेल भन्दै गतवर्ष पाँच दिनसम्म रोकेको रोटे पिङलगायत खेल तमासा यसपटक ‘धरान उत्सव’ मा खेलाइने भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घले दश दिनसम्म लगाएको ‘धरान एक्स्पो’ मा पाँच दिनसम्म खेल तमासा भन्दै रोटेपिङ सञ्चालनमा अवरोध पु¥याएका नगरप्रमुख साम्पाङले यसपटक भने पाँच दिने उत्सवमा खुल्ला गरेका छन् । गतवर्ष एक्स्पोमा पाँच दिनसम्म रोटे पिङ रोकेको सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए । ‘एक्स्पोमा पाँच दिनसम्म चलाउन दिएनन्’ –उनले विगतको पीडा सुनाउँदै भने । विगतमा नगरप्रमुख राईले मेला, उत्सव लगाउन नदिने अडान लिँदै आएका थिए । तर, त्यो अडान धरान उत्सवबाट तोडिएको छ । उत्सवबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख साम्पाङले भने, ‘अब दशैँ, तिहारमा कहिले पनि मेला रोकिँदैन । धरानमा जहिलेसुकै मेला लाग्छ ।’

धरान डेको अवसरमा धरानमा पाँच दिने उत्सव सुरु हुँदै छ । जसमा पिङलगायत ६ खेललाई सञ्चालनको अनुमति दिइएको छ । पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा नगरप्रमुख राईले भने, ‘एउटा रोटे पिङ नाथे खेलाउन नहुने ? किन त भन्दा पहिले झगडा भयो रे । हामीलाई पहिलेको भूतले तर्साइरहेको छ ।’ उनले धरानलाई थुनेर राखेको अनुभूति भइराखेको बताए । खेलहरूमा पैसाको चलखेल हुने, कसले लिने भन्ने विवाद अब चाहिँ नहुने उनले बताए ।

नगरले रोटे पिङ लगाउने विषयको सूचना पुस ११ गते प्रकाशित गरेको थियो । बोलपत्रअनुसार तीन जनाले प्रस्ताव लगाएका थिए । तीन प्रस्तावमा मापदण्ड पूरा भएको एउटा मात्र प्रस्ताव आएको भन्दै धरान–४ का धनबहादुर राईलाई कुल तीन लाख रुपैयाँमा ठेक्का दिएको छ । रोटे पिङको ठेक्का नौ लाख रुपैयाँसम्म प्रस्ताव आएको भए पनि ठेक्का लगाउँदा तीन लाख रुपैयाँमा मात्र लगाएको चर्चा भइरहेको छ । चर्चाको विषय नगर प्रमुख राईले अस्वीकार गरे ।

उनले भने, ‘त्यस्तो होइन । के के चर्चा हुन्छ, हुन्छ ।’ विगतका वर्षहरूमा बढीमा तीन दिन मनाउँदै आएको मेला यस वर्ष ५ दिन मनाउने भएको छ । नगरको खर्च बढाउने विषयमा उनले भने, ‘नगर कार्यपालिका बैठकमा नलगाउनु, लगाएपछि पाँचै दिन लगाऔँ केही छैन भन्ने भयो । सबैको विचार समेटिनु पर्छ । त्यसैले ५ दिन मनाउन लागियो ।’ उपमहानगरको उत्सवमा नाउ खेल, ड्रागन रेल, मिकी हाउस, जम्पिङ र घोडागाडी पनि खेलाउन अनुमति दिइएको छ । रोटे पिङ, नाउ र ड्रागन रेलको प्रतिव्यक्ति शुल्क १ सय ५० रुपैयाँ रहेको छ भने अन्यमा ५० रुपैयाँ निर्धारण गरिएको छ ।