विजयपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको विषयमा राजनीतिक दलका भातृ सङ्गठनका युवाहरू विरोधमा उत्रिएपछि उपमहानगरपालिका क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।

मङ्गलबार नेपाली काङ्ग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादीलगायत दलका युवाहरू नाराबाजीसहित नगर कार्यालय पुगेका थिए । उपमहानगरपालिकामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर पुनः राख्नुपर्ने उनीहरूको माग थियो ।

नगर प्रमुख राईले २०८० पुस १२ गते राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको तस्बिर कार्यकक्षबाट हटाएका थिए । तस्बिर पुनः नगर प्रमुख राईको कार्यकक्षमा राख्नु पर्ने मागसहित युवाहरूले नाराबाजी गरेका थिए । उनीहरूले संविधान सबैले मान्नुपर्नेलगायतका नारा लगाउँदै धरान–३ स्थित सिंहदेवी चोकदेखि उपमहानगरपालिकासम्म प्रदर्शन गरेका थिए ।

उनीहरू नगर प्रमुखको कार्यकक्षमा गएर आफै राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको तस्बिर राख्ने सूचना बाहिरिएपछि उपमहानगरपालिकाको प्रवेशद्वारदेखि नै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । कडा सुरक्षाका बीच प्रहरीले दलका प्रतिनिधिलाई मात्र नगर प्रमुख राईको कार्यकक्षमा प्रवेश गराएको थियो ।

पुनः तस्बिर राख्ने विषयमा नगर प्रमुख राईसँग उनीहरूको छलफल भए पनि निष्कर्षविहीन बनेको थियो । दलका प्रतिनिधिहरूले पुनः तस्बिर राख्न माग गरेका थिए भने नगर प्रमुख राईले प्रधानमन्त्री दाहाललाई धरान उत्सवको उद्घाटन समारोहमा ल्याउने जिम्मा दलहरूले लिनु पर्ने अडान राखेका थिए ।

एकीकृत समाजवादीमा आबद्ध युवा रिकेश विश्वकर्माका अनुसार नगर प्रमुख राईले प्रधानमन्त्री दाहाललाई निमन्त्रणा गर्न दलहरूको पत्र र प्रतिनिधिसहित जानुपर्ने दलका युवाहरूको अडान थियो । तर, नगर प्रमुख राईले उपमहानगरपालिकाको पत्र र प्रतिनिधि पठाउने विषयमा असहमति जनाए ।

छलफलमा नगरप्रमुख राईले आफूले बोलाउँदा प्रधानमन्त्री नआउने भएकाले दलहरूले बोलाइदिनुपर्ने अडान राखेका थिए । दलहरूले बोलाउँदा पनि प्रधामन्त्री नआएमा फेरि तस्बिर हटाउँदिन भनेर हस्ताक्षर गर्नुपर्ने युवाहरूको प्रस्ताव पनि नगर प्रमुख राईले अस्वीकार गरे । उक्त प्रस्तावमा नगर प्रमुख राईले पछि नै कुरा गर्ने जवाफ दिए । युवाहरूले प्रधानमन्त्री बोलाउन राजनीतिक दलका नेतासँग समन्वय गर्नुपर्ने सुझाव दिए पनि नगर प्रमुख राईले कसैसँग हात जोडेर नहिँड्ने र दलहरू आफै जानुपर्ने जवाफ दिएका थिए ।

वार्ता नमिलेपछि युवाहरू तीनदिने अल्टिमेटम दिएर निस्किएका छन् । ३ दिनभित्र तस्बिर नराखेमा हुने सम्पूर्ण घटनाको जिम्मेवारी नगर प्रमुख राईले लिनुपर्ने भन्दै युवाहरू बाहिरिए । विना निष्कर्ष युवाहरू बाहिरिएपछि नगर प्रमुख राईले धराने जनतालाई अपमान गर्नेलाई सम्मान नगर्ने प्रतिक्रिया दिएका छन् । उनले आफ्नो फेसबुक पेजमा ‘धराने जनतालाई अपमान गर्नेलाई म सम्मान गर्छु र ? कदापि गर्दिनँ’ भनेर स्टाटस लेखेका छन् । वार्तामा नेकपा (एमाले)का तर्फबाट दिवस राई र ब्रमज्ञ भट्टराई, काङ्ग्रेसका हिमाल श्रेष्ठ र विनोद आले मगर, माओवादी केन्द्रबाट दीपक घिसिङ, एकीकृत समाजवादीका रिकेस विश्वकर्मा छलफलमा बसेका थिए ।

किन हटाइयो तस्बिर ?
प्रधानमन्त्री दाहाल धरान उत्सवको उद्घाटन कार्यक्रममा नआउने भएपछि नगर प्रमुख राईले राष्ट्रपति पौडेलसहित दाहालको तस्बिर हटाएका थिए ।

धरान नगर प्रमुख राई काठमाडौँ गएका समयमा प्रधानमन्त्री दाहाललाई धरान उत्सवको उद्घाटन समारोहमा निमन्त्रण गरेका थिए । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री दाहालको समय मिल्ने÷नमिल्ने निश्चित गरेर जानकारी गराउने बताएका थियो ।

प्रधानमन्त्री दाहालको सचिवालयले उपस्थित हुन नसक्ने जानकारी गराएपश्चात् नगर प्रमुख राईले पुस ११ गते फेसबुकमार्फत् राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको फोटो हटाउने जानकारी दिए । नगर प्रमुख राईले ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महŒव दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु । जय देश’ भनेर फेसबुक पेजमा लेखेका थिए । पुस १२ गते राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराती राजा यलम्बरको तस्बिर कार्यकक्षमा राखे । राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी विरोध गरे । तस्बिर हटाएको विषयले नै पुस १३ गतेको कार्यपालिका बैठक पनि अवरुद्ध भएको थियो ।