इटहरी । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले करका विषयमा नेकपा (एमाले) ले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् ।

नगरप्रमुख पौडेलले पत्रकार सम्मेलन गरेर एमालेले भित्र एउटा सहमति गर्ने र बाहिर अर्कै कुरा बोलेर भ्रम फैलाउन खोजेको आरोप लगाएका हुन् । बुधबार तोकिएको १४ औँ नगरसभा बैठक पनि एमालेका जनप्रतिनिधिकै कारण बस्न नसकेको बताएका छन् ।

उनले इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै कर घटाउने विषयलाई पनि फण्डाको रूपमा मात्र बजारमा ल्याएको बताए । नगरप्रमुख पौडेलले कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबावले काम गर्न नसकिएको आरोपसमेत लगाए ।

राजस्व, शुल्क तथा जरिबाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बुधबारको नगरसभामा सो विषयमा छलफल हुने कार्यतालिका थियो । तर, पार्टीको ह्विपमा उनीहरूले नगर सभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाए ।

कार्यपालिका र नगर सभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाइ छ । ‘हामी कर घटाउने पक्षमा छौँ, बारम्बार भन्दै पनि आएका छौँ । तर, एमालेले भने अहिलेसम्म दोहोरो चरित्र मात्र देखाएको छ’ –पौडेलले भने । नगरप्रमुख पौडेलले सबैसँग सहमति र सहकार्य गरेर सरकार चलाउने बताएका छन् ।

इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुखसहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुखसहित ६ जना नेपाली काङ्ग्रेसबाट निर्वाचित सदस्य छन् । यस्तै १ सय ४ जना नगरसभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काङ्ग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।