धरान । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

मुख्यमन्त्री निवासमा भेटघाटका लागि पुगेका नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्य समितिसँगको छलफलमा सोमबार मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेशभरिका पत्रकार महासङ्घको भौतिक संरचना विकासमा योगदान गरिरहेकोले पत्रकार महासङ्घलाई पनि प्रदेशको अधिकार प्राप्तिका लागि बहस चलाउन आग्रह गरेका हुन् ।

‘प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेको र कानून, नियम बनिसकेको प्रहरी समायोजन नगर्ने सरकार र सङ्घीय संसद्लाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ । उनले भने, ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर, प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने संसद्माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेको छैन ?’