धनकुटा । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई दुव्र्यवहार गरेको आरोपमा धनकुटाको लेगुवास्थित राम बजारबाट पक्राउ परेका महेश राईलाई पहिचानवादी नेताहरूले बुधबार जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा गएर भेटघाट गरेका छन् ।
राईलाई प्रदेश नं. १ पुनः नामाङ्कन केन्द्रीय सङ्घर्ष समितिका संयोजक डगेन्द्र थेगिम लिम्बू, किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई, उप–महासचिव अर्जुन जम्नेली राई, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, उप–महासचिव विष्णु थाम्देनलगायतले भेटघाट गरेका हुन् । भेटघाटको क्रममा पहिचानवादी नेताहरूले राईको स्वास्थ्य अवस्था, परिवारिक अवस्था, वैचारिक धार र विशेष गरेर दुव्र्यवहारको घटना कसरी घट्यो आदि विषयमा चासोको साथ सोधेका थिए । सोही क्रममा हिरासतमा रहेका राईले भने, ‘एमाले अध्यक्ष ओली आउने दिन आफूले सामान्य मादक पदार्थ सेवन गरेको कारण अचानक हुत्तिएर ठोक्किएको हो, मैले कुनै गलत मनसायले त्यस्तो काम गरेको हैन ।’ सोही क्रममा उनले थपे, ‘पहिले म एमालेको नै थिएँ तर, हिजोआज कुनै दलमा नलागी स्वतन्त्र रहेको छु ।’ राईलाई पहिचानवादी नेताहरूले नआत्तिई धैर्य गरेर बस्न आग्रह गर्दै भने, ‘तत्काल स्थानीय प्रशासनले नछोडे हामी आन्दोलन गरेर भए पनि निकालेरै छाड्ने छौँ ।’
हिरासतमा रहेका राईलाई रिहा गर्ने विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसँग पहिचानवादी नेताहरूले भेटघाट गरेका छन् । भेटघाटको क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘प्रहरीबाट फायल आफ्नो टेबलमा आई नपुगेकाले अहिले केही भन्न नसक्दिनँ ।’ उनले घटनाको प्रकृतिअनुसार अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया मिलाउनु पर्ने भएकाले केही समय लाग्ने बताए । उनले थपे, ‘प्रतिवेदनमा घटनाको विषयमा के भनेर आउँछ, फायल नहेरी केही भन्न मिल्दैन ।’
हिरासतमा रहेका राईका विषयमा यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक राई, नेकपा (एमाले)ले हाम्रो मान्छे भनिरहँदा पनि कारबाही गरेमा पाप लाग्ने भन्दै तत्काल छोड्न आग्रह गरे । उनले भने, ‘पहिचानको आन्दोलन संसारमा चलेको छ, नेपालमा मात्र हैन भन्दै सहयोग गर्न आग्रह गर्दछु ।’ राईले थपे, ‘स्थानीय प्रहरी प्रशासनले हामीसँग एउटा कुरा, पक्राउ परेका मान्छेसँग अर्को कुरा गरेर मानसिक दबाव नदिनुहोला ।’ राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले परिस्थितिजन्य घटना घटेको बताउँदै आफूहरूलाई पनि नैतिक सङ्कट रहेकोले यो घटनाको जिम्मेवारी आफूहरूसँग पनि जोडिएको बताए । पालुङ्वाले भने, ‘हाम्रो सङ्गठनले विज्ञप्ति जारी गरेर रिहाइको माग गरिसकेको छ, यथाशीघ्र निर्णय दिने अधिकार सिडिओ सा’वको हो ।’ उनले प्रजिअ पौडेललाई भने, ‘चाँडो निर्णय दिन सक्नुभएन भने हामी फेरि आन्दोलन गर्न बाध्य हुनेछौँ ।’
यसअघि स्थानीय प्रशासनको ठाडो आदेशमा गत मङ्सिर २७ गते बुधबार लेगुवास्थित रामबजारबाट ९ जना र छथरजोरपाटीको सिँधुवा बजारबाट मङ्सिर २८ गते ९ जना गरी जम्मा पक्राउ परेका १८ जना पहिचानवादीहरू छुटिसकेका छन् । लेगुवा बजारबाट दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका महेश राई भने छुटेका छैनन् । पक्राउ परेका १८ जनाभन्दा महेशको घटना र मुद्दाको विषय फरक भएकाले आवश्यक अनुसन्धानको लागि केहीदिन लाग्ने डिएसपी राजबाबु महर्जनले बताए ।
































