प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन स्थापना र सामाजिक न्यायका लागि सरकारले अगाडि बढाएका कामहरू सफल भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भने, 'सुशासन कायम गर्न सरकारले महत्त्वपूर्ण कदम चालेको छ, सामाजिक न्याय र समृद्धिका लागि सरकारले अगाडि बढाएका कार्य सफल पनि भएका छन् ।' उनले वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा सरकारले गरेको कार्य ऐतिहासिक रहेको चर्चा गरे । प्रधानमन्त्री दाहालले मिटर ब्याजीहरूबाट पीडितका विषयलाई सम्बोधन गरिएको, नागरिकतासम्बन्धी समस्या समाधान गरिएको एवं सामाजिक न्याय स्थापनाका लागि भएका प्रयासहरू वर्तमान सरकारका महत्त्वपूर्ण कार्य भएको उल्लेख गरे ।

उनले भ्रष्टाचारविरुद्ध एवं सुशासनका पक्षमा गरिएको कारबाही ऐतिहासिक भएको बताए । प्रधानमन्त्री दाहालले भू–माफिया एवं तस्करीकाविरुद्धको कारबाहीमा पनि सरकार खरोसँग उत्रिएको स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न सरकार पूर्णरुपमा सफल भएको बताए । प्रधानमन्त्री दाहालले एनसेलका सम्बन्धमा पर्याप्त तथ्य, प्रमाण र तथ्याङ्क राज्यव्यवस्था समितिको बैठकमा पेस भइसकेको भन्दै नेपालको संविधानअनुसार राष्ट्र र जनताको पक्षभन्दा बाहिर कोही कसैलाई जान नदिने दृढता व्यक्त गरे ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टीको नामका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा समाजवादको भाव आउने खालको नयाँ नाम राख्नेगरी छलफल भइरहेको जानकारी दिए । उनले कोशी प्रदेशको नाममा देखिएको असहमति संवाद गरेर सहमतिद्वारा टुङ्गो लगाउनुपर्ने बताए । प्रदेशको नामको विषयलाई चर्काउने भन्दा पनि सहज प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री दाहालले विकास निर्माण तथा जनताको काम गर्नका लागि नयाँ ढङ्गबाट सरकार अगाडि बढ्ने बताउँदै यस सम्बन्धमा मन्त्रीहरूलाई लक्ष्य दिइने र सम्पन्न नभए सोहीअनुसार निर्णय गरिने बताए ।

प्रधानमन्त्री दाहालको शुक्रबार सुनसरीको भोक्राहामा विद्युत् प्रशारण लाइनको उद्घाटन गर्ने, मोरङको मिक्लाजङ गाउँपालिकामा विकास कार्यको अनुगमन गर्ने र विराटनगरस्थित मोरङ व्यापार सङ्घद्वारा आयोजित विराट एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।