पहिचानवादी शक्तिलाई नेकपा एमालेसहित केही नेताले आतङ्ककारी घोषणा गरेको भन्दै पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले आरोप फिर्ता लिन चेतावनी दिएको छ ।

आत्माआलोचना गरेर 'कोशी' प्रदेश नाम पुनः नामकरण गर्ने प्रतिबद्धता गरेमा स्थिति हेरेर आन्दोलनको रूप परिवर्तन गर्न सकिने पहिचानवादीहरुले बताएका छन् । मङ्सिर २६ गतेदेखि हुने मध्य पहाडी मार्ग 'घुर्मी-लेगुवा सडक अनिश्चितकालीन बन्द' प्रभावकारी बनाउन थप सक्रिय बन्न आह्वानसमेत उनीहरुले आग्रह गरेका छन् ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिअन्तर्गत किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, नेपाल शेर्पा सङ्घ, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) द्वारा जारी विज्ञप्तिमा 'एमालेले अभिव्यक्ति फिर्ता लिएर आओस् घुर्मीमा स्वागत गर्छौं' भनेको छ ।

Pahichanbadi press meet dharan

जारी विज्ञप्तिमा मङ्सिर १४ गते विज्ञप्ति प्रकाशन गरेर एमाले पार्टीलाई 'झुलाघाट-चिवाभञ्ज्याङ' अभियान प्रदेश नं. १ मा आइपुग्दा 'कोशी' नाममा हस्ताक्षर गर्ने ८२ मध्येका प्रदेश सांसद र राई, लिम्बू, शेर्पा, तामाङ, मगर, गुरुङ, नेवार, थारु, आदिवासी जनजातिलाई साम्प्रदायिक हिसाबले अपराधी भन्ने र पहिचान पक्षधर खस/आर्य, दलित, मधेशीहरूलाई आतङ्ककारी भनी बारम्बार लागी गर्दै आएका पूर्व प्रधानमन्त्री केपी ओली, योगेश भट्टराई, महेश बस्नेत (तीन भाइ) विरुद्ध कालो झण्डासहितको विरोध प्रदर्शन गर्दै आएको उल्लेख छ ।

'तीन भाइले आत्मा आलोचना गरेर 'कोशी' प्रदेश नाम पुनः नामकरण गर्ने प्रतिबद्धता गरेमा स्थिति हेरेर आन्दोलनको रूप परिवर्तन गर्न सकिने सबैमा प्रष्ट पार्न चाहन्छौँ। तीन भाइ बाहेकलाई हाम्रो कुनै अवरोध नहुने विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ।' जारी विज्ञप्तिमा भनिएको छ ।

पहिचानको आन्दोलन एमाले, काङ्ग्रेस, माओवादी केन्द्र विरुद्ध नभएर पहिचानको आधारमा पुनः नामकरण आम जनताको मागका कारण भएको विज्ञप्तिमा उल्लेख छ ।

Pahichanbadi pressmeet

२०८० मङ्सिर १९ गते हामीले अनुरोध गर्दागर्दै मुख्यमन्त्री केदार कार्की, नेपाली काङ्ग्रेसको संसदीय दलका नेता (पूर्व मुख्यमन्त्री) उद्धव थापा, प्रदेश सांसद प्रदीपकुमार सुनुवार, रामकुमार खत्री (उदयपुर) ओखलढुङ्गा पुगेपछि  कालो झण्डासहित विरोध प्रदर्शन गरेको उल्लेख गर्दै प्रदर्शनको क्रममा ९ जना पहिचानवादी योद्धा प्रहरीले पक्रेर चार घण्टापछि छाडेको विज्ञप्तिमा जनाइएको छ ।

पहिचानवादीले यो आन्दोलन एमाले विरुद्धको आन्दोलन नभएको कारण ८२ मध्येका प्रदेश सांसदहरू र तीन भाइलाई यात्रामा सहभागी नगराउने सुनिश्चित भएको अवस्थामा पनि सडक बन्द लगायतको कार्यक्रममा पुनः विचार गर्न सकिने उल्लेख गरेको छ ।

'तीन भाइ आम जनताको माग सम्बोधन गरेर जनताको खुसी र सुखको पक्षमा लाग्नुको साटो पहिचानवादीहरूलाई अपराधी र आतङ्कारीको आरोप लगाउदै सके उनीहरू बिच विभाजनको कुत्सित प्रयास गर्ने, नसके साम्प्रदायिक द्वन्द्र गराउन उद्धत रहिरहेमा प्रदेशको शान्ति, समृद्धि, समाजवाद र राष्ट्रिय एकताको लागि भइरहेको पहिचानको आन्दोलन एकपछि अर्को सशक्त बन्दै जानेछ।' जारी विज्ञप्तिमा भनिएको छ, 'एमाले, काङ्ग्रेस, माओवादी केन्द्र सम्बद्ध आदिवासी जनजाति नेता कार्यकर्ताहरूलाई प्रश्न गर्न चाहन्छौं कि 'कोशी' र 'कोसी'को भेद के हो? कौशिक ('कोशी') मान्नु पर्ने किन? पहिचानको आधारमा नाम राख्दा कसलाई के घाटा हुन्छ? एमाले लगायतका पार्टीहरूलाई के घाटा हुन्छ?'

Pahichanbadi pressnote

पहिचानवादी शक्तिले एमाले, काङ्ग्रेस लगायतका पार्टीका पहिचान विरोधी नेताहरूलाई प्रश्न गर्न, बहस चलाउन आग्रह गर्दै जनताको माग विरुद्ध जबरजस्ती गरिएमा हुने प्रतिरोध विरुद्ध डटेर अघि बढ्न सम्पूर्ण प्रदेशवासी समुदायमा आह्वान गरेको छ ।

मङ्सिर २६ गतेदेखि हुने मध्य पहाडी मार्ग 'घुर्मी-लेगुवा सडक अनिश्चितकालीन बन्द' प्रभावकारी बनाउन थप सक्रिय बन्न पत्रकार सम्मेलनमा उपस्थित पहिचानवादी नेताले कार्यकर्तामाझ आग्रह गरेका छन् ।