कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने बताएका छन् । 

मानव अधिकार रक्षक सञ्जाल कोशीद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय ‘महिलावादी मञ्च–२०८०’ सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले महिलालाई तालिम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको बताए । 

मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिमा पनि सरकार जनताको पक्षमा काम गर्ने बताए । फरक प्रसंगमा उनले आफूले जनताको पक्षमा काम गरिरहेकाले तत्काल पदबाट नहटने बताए । 

सरकार प्रदेशको मानवीय सूचकाङ्क बढाउने कार्यमा लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्य गरिने बताए । 

सरकारले बाटो, सामुदायिक भवनलगायत क्षेत्रमा बजेट कटौती हसन नदिने प्रष्ट पारे । मुख्यमन्त्री कार्कीले विभेदरहित समाज निर्माण गर्न महिला अगाडि आउनुपर्नेमा जोड दिँदै यस कार्यमा सरकार साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरे । 

नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले महिलामाथि हुने घरेलु हिंसा तथा अन्य कुरीतिविरुद्ध एकजुट भएकर लड्ने प्रतिबद्धता व्यक्त गरे । महिला राष्ट्रिय सञ्जालकी संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले लोकतान्त्रिक पद्धतिमा महिलाको आवाज तीनै तहको सरकारले सुन्नुपर्नेमा जोड दिए । 

सञ्जालकी प्रदेश अध्यक्ष मन्जिता उपाध्याय, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, महिला मानव अधिकार रक्षक मोरङकी अध्यक्ष इन्दु चौधरीलगायतले महिलामाथि हुने असमानता एवं अपमानको विरोधमा महिला आफैँ अगाडि आउनुपर्ने बताएका थिए । 

दुईदिने सम्मेलनमा प्रदेशसभाका महिला सदस्य, प्रदेशअन्तर्गतका जिल्लाका उपप्रमुख, सञ्जालका प्रतिनिधि, मानवअधिकारकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।