विराटनगर । कोशी प्रदेश सरकारको बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्षका लागि अध्यादेशमार्फत् दोस्रो पटक ल्याइएको बजेट प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

यसअघिको सरकारले दुईपटक अध्यादेशमार्फत् बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभामा प्रस्तुत गरेको बजेट विवरणमा चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो । यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो । उक्त अध्यादेशमा ५० करोड बढी अनुमान गर्दै प्रतिस्थापन बजेट ल्याइएको हो ।

जसअनुसार चालुतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरिएको छ । यस्तै चालु खर्चमध्ये सङ्घीय अनुदान बचत फिर्ताका लागि २ अर्ब राखिएको छ ।

उक्त बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । अध्यादेशबाट ल्याएको बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालुतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड थियो ।

जसमध्ये प्रदेश सरकारले पहिलो चौमासिकमा चालुतर्फ ३ अर्ब ५७ करोड ८२ लाख १३ हजार २९४ रुपैयाँ अर्थात् १९.८७ प्रतिशत खर्च गरिसकेको छ । पुँजीगततर्फ भने हालसम्ममा १ अर्ब ३७ करोड ५५ लाख ९६५ रुपैयाँ अर्थात् ७.५४ प्रतिशत खर्च गरिसकेको छ ।

मुख्यमन्त्री कार्कीले अध्यादेशबाट आएको बजेटमा भएको प्रदेशको २५ लाखमुनिका ३२ सयभन्दा बढी योजना काटेर प्रतिस्थापन विधेयक ल्याएका हुन् ।

विधेयकमा मानव विकाससँगै कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री कार्कीले बताए । प्रतिस्थापन विधेयकमार्फत् प्रदेशभरिका प्रत्येक निर्वाचन क्षेत्रमा बजेट र योजना पर्ने गरी मुख्यमन्त्री कार्कीले सन्तुलन मिलाउने प्रयास गरेको बताए । विधेयकमा किसानको दूध खरिद गरेर घ्यू र पाउडर दूध डेरी व्यवसायीहरूले उत्पादन गरेर बिक्री नभएर भण्डारण गर्ने बाध्यात्मक समस्या समाधानका लागि मुलुक बाहिर निर्यातका लागि अनुदानको व्यवस्था गरिएको छ । ‘प्रदेशमा मानवीय विकासका लागि १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचार, प्रत्येक पालिकामा कृषि र पशुपन्छी विषयमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ’ मुख्यमन्त्री कार्कीले भने, ‘आदिवासी जनजाति समुदायका लागि भाषा, संस्कृति, धर्मलगायतको विकासका लागि बजेटमा विशेष व्यवस्था गरिएको छ ।’

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनका लागि विशेष भत्ताको विधेयकमा व्यवस्था गरिएको उनले बताए । सुनसरीको इटहरीमा जलन (बर्न) र विराटनगरस्थित सरूवा रोग अस्पताललाई हृदयरोग अस्पताल बनाउन व्यवस्था गरिएको छ । सार्वजनिक सवारी चालकको आँखालगायतको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था विधेयकमा गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

प्रदेशसभामा पेस भएको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मुख्यमन्त्री केदार कार्कीले बजेट धेरै चलाउने अवस्था नभएको बताए । आफूले १० देखि १५ प्रतिशत बजेट परिमार्जन गरेको बताए ।

‘यो सरकार बनाउँदा एमाले थियो । विश्वासको मत लिँदा माओवादी र नेकपा (एस)सहित एक भएको थियो । यो बजेटमा प्रदेश सांसद्हरूको छाती चौडा हुने र सङ्घीय सांसद् तथा सङ्घीय मन्त्रीहरूलाई जवाफ दिनेगरी पाइला चालेका छौँ’ उनले भने, ‘विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले लगभग १०–१५ प्रतिशत बजेट चलाएर जनताको मागलाई सम्बोधन गर्ने प्रयास गरेका छौँ । यो अध्यादेशबाट आएको बजेटलाई शुद्ध बनाएर सबै सांसद्को क्षेत्रमा पुग्ने, समानुपातिक वा प्रत्यक्ष सबैले महसुस गर्न सक्ने, सबैलाई छुने र ५६ वटै क्षेत्रलाई अन्याय नहुने गरी प्रतिस्थापनमार्फत् केही प्रयास गरेका छौँ ।’

नीतिगत समर्थन छः एमाले
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ल्याएको बजेट प्रतिस्थापन विधेयकलाई नेकपा (एमाले)ले समर्थन गरेको छ ।

एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले बजेट विधेयकमा नीतिगत समर्थन रहेको बताए । विधेयक पेस भएपछि प्रदेश सभाबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले आफूहरूले सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई सरसर्ती हेरेर नीतिगत समर्थन दिएको बताए । उनले यसअघि आफू नेतृत्वको सरकारले ल्याएकै बजेटमा थोरै परिवर्तन गरिएको मुख्यमन्त्रीले बताएको भन्दै नीतिगत समर्थन रहेको बताए ।

विस्तृतमा अध्ययनपछि मात्रै बजेटबारे थप प्रतिक्रिया दिन सकिने उनले बताए । एमालेले अध्ययनपछि विधेयक पास गर्ने समयमा स्पष्टरूपमा मत राख्ने बताए । उनले पूर्णरूपमा समर्थन गर्ने वा फेल गराउने भन्ने विषयमा विस्तृत अध्ययनपछि मात्रै भन्न सकिने बताए ।