बिर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार झापामा एक निजी विद्यालयले निर्माण गरेको पृथ्वीनारायण शाहको फाइवरको सालिक अनावरण गरेका छन् ।

बिर्तामोड–१ मा सञ्चालित ईकम कलेजले निर्माण गरेको फाइवरको सालिक शाहले अनावरण गरेका हुन् । सो अवसरमा शाहले विगत ८ वर्षदेखि सञ्चालित कलेजकोसमेत उद्घाटन गरेका छन् । ईकम कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन सङ्कायमा अध्यापन गराउँदै आएको छ । सालिक अनावरणका लागि शाह शुक्रबार नै मेचीनगरमा रहेको होटल मेची क्राउनमा आएका थिए । मेची क्राउनबाट शनिबार आएर शाह कार्यक्रममा सहभागी भएका हुन् ।

मेची क्राउन होटलबाटै राप्रपाले शाहको यात्रामा स्कर्टिङ गरेको थियो । हजारौं मोटरसाइकलमा आएका राजावादी दलका कार्यकर्ताले स्कर्टिङ गरेर शाहलाई कार्यक्रमस्थलमा ल्याएका थिए । राप्रपाले शाहको उपस्थितिलाई शक्ति प्रदर्शनको रूपमा उपयोग गरेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि शाहसँगै कार्यक्रममा सहभागी भएका थिए । उनी आफै १५ दिनदेखि झापामा बसेर कार्यक्रमको तयारी गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

कलेज उद्घाटन, पृथ्वीनारायण शाहको सालिक अनावरणपछि शाहले कलेजले आयोजना गरेको सांस्कृतिक कार्यक्रम अवलोकन गरेका थिए । कार्यक्रममा आयोजकले नेपाली राष्ट्रगान भन्दै स्वदेश गीत बजाएको थियो । ‘रातो र चन्द्र सूर्य’ बोलको स्वदेश गान कलेजका छात्रा प्रेरणा ओलीले गाएकी थिइन् ।

पछिल्लो समय राजावादी अभियान चलाइरहेका दुर्गा प्रसाईंले मधेस प्रदेशमा आयोजित एक कार्यक्रममा पुरानो राष्ट्रगान बजाएपछि विवाद उत्पन्न भएको थियो । आयोजकले सो विवाद यहाँ दोहोरिने सम्भावनालाई टार्दै स्वदेश गीतलाई राष्ट्रगानको रूपमा प्रस्तुत गरेको थियो ।

कलेजका शिक्षकसमेत रहेका कार्यक्रमका उद्घोषक बालकृष्ण दाहालले सम्बोधनभरि राजषी भाषा र शैली प्रयोग गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई दाहालसहितका वक्ताहरूले पटक–पटक ‘श्री ५ को सरकार, महाराजाधिराज’ लगायतका विशेषण प्रयोग गरेका थिए । कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक आलोक कार्की तथा सञ्चालक निर्मल निरौलाले बोलेका थिए ।

शाहलाई हेर्न प्रदेशभरबाट हजारौं सर्वसाधारणको भीड लागेको थियो । भीडका कारण कार्यक्रमस्थलसम्म शाहलाई लैजाने क्रममा सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको थियो । प्रशासनले शाहको कार्यक्रमलाई साधारण सुरक्षा प्रदान गरेको थियो । नेपाल प्रहरीका डिएसपी र सशस्त्र प्रहरीका इन्स्पेक्टरले सुरक्षा सम्हालेका थिए । सहभागीलाई कार्यक्रमस्थल बाहिरै राखिएको थियो । कलेजको कम्पाउण्डभित्र जान नपाएपछि सहभागीहरूले चर्काे असन्तुष्टि जनाएका थिए । टाढाबाट आएका उनीहरूले शाहलाई भेट्न नपाएपछि आयोजकको आलोचना गर्दै फर्किएका थिए । कार्यक्रममा शाह, राप्रपाका अध्यक्ष लिङ्देनलगायत राजावादी दलका नेता कार्यकर्ता सहभागी भए पनि सम्बोधन भने गरेनन् ।