जनपथ । बराहक्षेत्र नगरपालिकाले महेन्द्रगेटदेखि बसपार्कसम्मको बाटो विस्तारका क्रममा स्थानीय पीडित पक्षसँग छलफल नगरी बलमिच्याइँ गरेको आरोप लागेको छ । समान मापदण्डको सर्वमान्य सिद्धान्तविपरीत नगरपालिकाले विकासका नाममा सडक विस्तार गर्दा स्थानीयवासी पीडित भएको जनगुनासो आएको छ ।

नगरपालिकाले समान मापदण्डविपरीत सडक विस्तार गर्दा तीव्र रूपमा विरोध भएको छ । तर नगरपालिकाले नागरिकको  गुनासोमा चासो नदिएको स्थानीयको आरोप छ । स्थानीय इन्द्र भुजेलले विकास र सडक विस्तारका नाममा नगरपालिकाले मुढेपेलाइ गरेको आरोप लगाए । ‘के का लागि विकास गर्न लागेको नगरले ? कहाँ विकास गर्न लागेको ? न पीडित पक्षसँग छलफल छ, न पार्टीका प्रतिनिधिसँग छलफल छ ? मुडपेलाइमै लाग्ने हो नगरप्रमुख ज्यू ?’ भुजेलले प्रश्न गर्दै भनेका छन्, ‘कतै ६५ फिट कतै ८१ फिट, कतै ७० फिट, कतै ७५ फिट के नाटक हो यो ?’

भुजेलले मनपरितन्त्रको पराकाष्ठा भएको आरोप लगाए । ‘अपरिपक्व नेतृत्व पाउँदा वराहक्षेत्रवासीले दुख पाउने भए ।’ भुजेलले नियमसङ्गत काम गर्न नगर प्रमुखलाई आग्रह गरेका छन् । स्थानीय नरेन्द्र निरौलाले बाटो पूर्व सार्वजनिक जग्गा र बाटो पश्चिम नम्बरी जग्गा पर्ने भएकाले नगरले बलमिच्याइँ गरेको हुनसक्ने बताए । स्थानीयवासी निकेश श्रेष्ठले ८० फिट नै सडक विस्तार गरे पनि बसपार्कसम्म एकरूपता हुनुपर्ने बताए ।

राजनीतिक दलको विज्ञप्ति
वराहक्षेत्रका पाँच राजनीतिक दलले नगरपालिकाको सडक विस्तारप्रति ध्यानाकर्षण भएको जनाउँदै ‘डिमार्केशन’ गरी पुनः नापी गरिनुपर्ने माग राखेका छन् । नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा माओवादी, राप्रपा र जसपाले संयुक्त विज्ञप्ति  जारी गर्दै ‘जुन ठाउँमा विकास गर्ने भनेर निर्णय गरिएको छ त्यस स्थानको जनतालाई उपेक्षा र बेवास्ता गरेर गरिने विकासले कुनै अर्थ नराख्ने’ उल्लेख गरेका छन् ।

वराहक्षेत्र–६ स्थित शिवालय (महेन्द्रगेट) देखि बसपार्कसम्म सडकको पूर्वभाग (रेल्वेलाइन) तर्फ नाला बनाउने विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् । हाल कायम रहेको ६० फीट सडकलाई थप चौडा गर्न एकतर्फी मात्रै ६ फिट बढाउने नगरको निर्णय स्वतः पूर्वाग्रही देखिने विज्ञप्तिमा उल्लेख छ । ‘समृद्ध नगरको विकास निर्माणको नाममा जहाँ विकास गरिन्छ, त्यस स्थानका जनतालाई उठिबास बनाउने कुनियतका साथ गरिने विकास वराहक्षेत्र–६ का जनतालाई चाहिँदैन’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विकासको नाममा जनताहरूलाई विस्थापित गर्दै जनताको करोडौंको भौतिक संरचना भत्काएर, पीडित जनतासँग एकपटक पनि छलफल नगरी, बल मिच्याइँबाट नगरले गर्न लागेको विकासप्रति हाम्रो विमति छ ।’

यसअघिको नगर सरकारले ६० फिटलाई मान्यता दिई नाला कायम गरेको सडकलाई नै पूर्ण सदुपयोग उपभोग गर्नतर्फ नलागी नगरले स्वार्थप्रेरित ढङ्गबाट नाला बनाउन लाग्नु किमार्थ स्वीकार्य नहुने दलको विज्ञप्तिमा उल्लेख छ । साविक महेन्द्रनगर गाविस हुँदा पनि सडक ६० फिट नै कायम रहेको, निलम खनाल नगर प्रमुख हुँदा पनि ६० फिटलाई नै मान्यता दिएर सडक बनाइएको विषयलाई मध्यनजर गर्दै यस क्षेत्रको डिमार्केशन पोइन्टबाट पुनः नापी गरेर नाला निर्माण गर्न दलहरूले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

‘हामी सम्पूर्ण पार्टी रेल्वे सङ्घर्ष समितिले उठाएका मागहरूप्रति पूर्ण समर्थन जनाउँछौँ । वराहक्षेत्र नगरपालिकाले सङ्घर्ष समितिले उठाएका मागहरू सम्बोधन गरेर मात्रै नाला निर्माण गर्नको लागि हामी जोडदार माग गर्दछौँ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ । गत  कात्तिक २३ गते ३५ दिने सूचना जारी गरी वराहक्षेत्र नगरपालिकाले ६५ फुट सडक कायम गरिने बताएको थियो । सूचनामा महेन्द्रगेटदेखि बसपार्कसम्मको सडक विस्तार तथा सौन्दर्यीकरण गर्न सङ्घीय सरकारबाट टेण्डर स्वीकृत गरेको सूचित गरेको थियो ।

सूचनामा नगरले लिएको लक्ष्यलाई पूरा गर्न महेन्द्रगेटदेखि मुनाल चौक (केदार नेपालको घरसम्मको) सडक खण्डको दायाँ–बाँया नालाभित्रको भाग पूरै कायम गरी उक्त स्थानमा ६५ फिट नपुग भएमा सडकलाई कम्तिमा ६५ फिट कायम गरिने साथै मुनाल चौक (माधव बरालको घरदेखि) चक्रघट्टी बसपार्कसम्मको सडक–खण्डलाई कम्तिमा ६५ फिट कायम गरिने उल्लेख गरेको थियो । नगरले सूचनामा सो सडक अधिकार क्षेत्रभित्र निर्माण भएका घर, टहरा तथा अन्य भौतिक संरचना सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन उर्दी जारी गरेको थियो । अन्यथाः तोकिएको समयमा त्यस्ता संरचना हटाउन अटेर गरेमा त्यस्ता संरचनाधनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानूनअनुसार कारवाही भई जाने सूचना मार्फत जानकारी गराएको थियो ।

स्थानीयले भने नगरले एकलौटी तरिकाले बलमिच्याइँ गरेको आरोप लगाउँदै आएका छन् । स्थानीय पीडित घरधनी, ५ राजनीतिक दल र रेल्वे सङ्घर्ष समिति नगरको सडक विस्तार विरुद्ध आन्दोलित भएका छन् । नगर प्रमुख रमेश कार्कीले सङ्घीय सरकारको सहयोगमा सहरी सडक बनाउने उद्देश्यका साथ डबल लेन, डिभाइडर, साइकल लेन र फुटपाथ निर्माण गर्ने काममा लागेको बताए । ‘महेन्द्रगेटदेखि मुनालचोकसम्म पूर्वदेखि पश्चिमसम्मको नालाबीचको बाटो क्लियर गर्ने, जतिसुकै होस्, ५५ फिट, ६० फिट, ७० फिट, ८० फिट, ९० फिट जतिसुकै होस् त्यसलाई हामीले लिने र त्यहाँ ६५ फुट पुगेन भने ६५ फुट पु¥याउने’ नगरप्रमुख कार्कीले भने, ‘मुनाल चोकदेखि बसपार्कसम्म ६५ फिट लिने केही क्षति हुनसक्ने भए पनि तनाव नलिई हटाउन हुन आग्रह गर्दछु, भोलि नगरपालिकाले बल प्रयोग गरेर काम गर्न नपरोस्, सबैले बुझेर हटाउन हुन अनुरोध गर्छु । भोलि क्षतिको जवाफदेही वराहक्षेत्र नगरपालिका नहुने जानकारी गराउँदछु ।’

सर्वदलीय निर्णयः नगरको ज्यादती
वराहक्षेत्रका ६ राजनीतिक दलको बिहीबार बसेको संयुक्त बैठकले सडक विस्तारका नाममा ज्यादती गरेको निष्कर्ष निकालेको छ । पीडित स्थानीयको माग र ध्यानाकर्षण पत्र नगरप्रमुखले नबुझ्ने, उपप्रमुखले उजुरी नलिनेजस्ता तानाशाही प्रवृत्ति देखाएको दलको संयुक्त बैठकले निक्र्यौल निकालेको  हो ।

सर्वदलीय बैठकमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका प्रतिनिधिले छलफल गरेका छन् । दलको बैठकले साझा धारणा निर्माण गरी नगरप्रमुख समक्ष ध्यानाकर्षण–पत्र बुझाउने बैठकले निर्णय गरेको सर्वदलीय बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश प्रवक्ता विजयकुमार राउतले जानकारी दिए ।