विजयपुर । लामो समयपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बसे पनि महत्वपूर्ण प्रस्ताव पारित हुन सकेनन् ।

बिहीबार नेपाली काङ्ग्रेस र माओवादी निकट कार्यपालिका सदस्य अनुपस्थित भएपछि कार्यपालिका बैठकमा महत्वपूर्ण प्रस्तावहरू पारित नभएका हुन् । बैठकको कार्यसूचीमा कतिपय एजेण्डा कार्यान्वयन भइसकेका थिए । तर, धरानका लागि महत्वपूर्ण एजेण्डा निर्णय हुन सकेनन् । धरान–१५ का वडाध्यक्ष नरेश इवारमका अनुसार बैठकको कार्यसूचीमा रहेको वराह बचत तथा ऋण सहकारी संस्थालाई सङ्कटग्रस्त घोषणा प्रस्ताव पारित भएन । नगरप्रमुख हर्कराज राईले यसअघि नै वराह सहकारीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन सहकारी विभागलाई पत्राचार गरेका थिए ।

त्यस्तै खोलाजन्य पदार्थ (मिक्सगिट्टी) ठेकेदार कम्पनी लुम्बिनी गजुरमुखी (जेएन) लाई ठेक्का दिने प्रस्ताव पनि पारित भएन । विविध शैक्षिक कार्यक्रम (विद्यालयबाहेक) सञ्चालन अनुमति तथा नियमनसम्बन्धी निर्देशिका पनि पारित नभएको वडाध्यक्ष इवारमले जानकारी दिए ।

पार्किङ शुल्क ठेक्कासम्बन्धी प्रस्ताव पनि पारित भएन । उक्त प्रस्ताव पारित नै नगरी कार्यान्वयनको चरणमा छ । सवारी पार्किङ शुल्क (मोटरसाइकल र साना सवारी साधनसम्बन्धी प्रस्ताव पनि पारित भएन । तर, नगरपालिकाले प्रस्ताव पारित नगरी पार्किङ शुल्क उठाउन थालिसकेको छ ।

यस्तै, निजी सवारी साधनलाई सहुलियत दिने प्रस्ताव पनि पारित हुन सकेन ।  बैठकले धरान–४, १३, १४ र १५ नम्बर भएर विस्तारित धरान–धनकुटा ३३ केभीए राष्ट्रिय प्रसारण लाइनलाई स्थानान्तरणको लागि अध्ययन समिति बनेको छ । सेउती खोला करिडोर बस्तीका स्थानीयसँग आवश्यक छलफल तथा समन्वय तथा नापजाँच गरी सम्भाव्यता अध्ययन गर्न धरान–१५ का अध्यक्ष नरेश इवारमको संयोजकत्वमा सहजीकरण समिति बनेको छ । धरान उपमहानगर र घण्टाघरबाट उमेरहदका कारण निकालिएका कर्मचारीलाई समानरूपमा उपादान दिएर बिदाइ गर्नका लागि पनि समिति गठन भएको छ ।

धरान–२ का वडाध्यक्ष रमेश राईको संयोजकत्वमा समिति गठन भएको धरान–१५ का अध्यक्ष इवारमले जानकारी दिए । उनले भने, ‘बैठकको कार्यसूचीमा भएका घण्टाघरका कर्मचारीलाई उपादान दिने विषयमा निर्णय भएन । समिति बनेको छ ।’ कार्यपालिका बैठकले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना एवम् विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० पारित गरेको छ । यस्तै सार्वजनिक खरिद नियमावली २०७८ संशोधन पारित गरेको छ । कार्यगत अभ्याससहिको तालिमका लागि विषय पारित गरेको छ । निर्माण सामग्री एवम् परामर्श सेवा दिने वा विज्ञ समूहको पारिश्रमिकलगायतको नगर दररेट पारित गरेको छ । औद्योगिक ग्राम धरान–६ को विस्तृत अध्ययन प्रतिवेदन बैठकले स्वीकृत गरेको छ ।

धरान–६ को वडा कार्यालय भवनको निर्माणका लागि प्रदेश कार्यालयमा सहयोग माग्ने निर्णय भएको छ । सामान ढुवानी गर्ने सवारी साधनलाई पूर्वाधार उपयोग सेवा उठाउने निर्णय भएको छ । २०८० साउनदेखि करसहित दैनिक २३ हजार उठाउने निर्णय भएको छ । घरनक्सा दस्तुर एक हजार लिने निर्णय गरेको छ । घर बहालमा लगाउँदा लिखित सम्झौता गर्नुपर्ने निर्णय पारित गरेको छ । घर बहाल भुक्तानी बैङ्कमार्फत् गर्नुपर्ने निर्णय गरिएको छ ।