धरान । गत निर्वाचनमा पुराना जनप्रतिनिधिको ‘भ्रष्टाचारको फाइल खोल्छु’ भन्दै जनतालाई आश्वासन दिएर नगरप्रमुखमा निर्वाचित वराहक्षेत्रका रमेश कार्कीले नीतिगत भ्रष्टाचार गरेको तथ्य उजागर भएको छ ।

नगरप्रमुख कार्कीले आफन्तलाई सुटुक्क नियुक्ति गर्ने र कर्मचारीलाई मौखिक आदेशमा राख्ने गरेको तथ्य फेला परेको छ । यसको पछिल्लो उदाहरण वराहक्षेत्र नगरपालिका वडा नं. १ मा कार्यालय सहायकका रूपमा मामाकी छोरीलाई विनाप्रतिस्पर्धा प्रवेश गराएपछि तथ्य उजागर भएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार उल्लेख छ । कर्मचारी करारमा राख्नको लागि स्थानीय तहले स्वीकृत दरबन्दीको आधारमा आवश्यक पर्ने जनशक्तिका लागि न्यूनतम् शैक्षिक योग्यता, कार्यानुभव आदि निर्माण गरी १५ दिनको म्याद दिएर सार्वजनिक सूचना जारी गर्दै कार्यालयको बेवसाइटमा राख्नुपर्ने व्यवस्था गरेको छ । तर, नगर प्रमुख कार्कीले आफन्तलाई ठाडो नियुक्ति दिएको खुलेको छ ।

यसअघि पनि नगरप्रमुख कार्कीले नगर शिक्षा समितिको सदस्यमा आफ्नो सानोबुबालाई नियुक्ति दिएका थिए । उनले स्वकीय सचिवमा मामाका छोरालाई नियुक्ति दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले नगरप्रमुखको स्वकीय सचिव परिकल्पना गरेको छैन । यस्तो अवस्थामा नगर कार्यपालिकाले नगर प्रमुखको सचिवालय गठन तथा सञ्चालन कार्यविधि निर्माण गर्न सक्छ ।

तर, वराहक्षेत्रमा त्यस्तो कुनै कार्यविधि निर्माण भएको छैन । यस्तै नगरप्रमुख कार्कीले वराहक्षेत्र नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा भान्जालाई सहायक व्यवस्थापकमा नियुक्ति दिएका छन् । तर, नगर अस्पताल व्यवस्थापन समिति गठन आदेशमा सहायक व्यवस्थापकको ‘पद’ नै छैन । केही समयअघि प्रक्रियामार्फत् नै सानीआमाका छोरालाई नियुक्ति दिने अन्तिम तयारी गरिरहँदा पार्टीभित्रैबाट विरोध आएपछि परीक्षा सञ्चालन गरी कर्मचारीको नतिजा निकाल्नुपर्ने अवस्थामा नगरप्रमुख कार्कीकै कारण नतिजा सार्वजनिक गरिएको थिएन ।

वडा नं. १ मा नगर प्रमुखले मौखिक आदेशका भरमा नियुक्ति दिएका आफन्त महिला कर्मचारीका विषयमा बुझ्दा वडा सचिव लक्ष्मण पौडेलले आधिकारिक पत्रमार्फत् नियुक्ति नभएको बताए । गत भदौ १५ देखि हाजिर हुने गरी काम गर्ने वातावरण बनाइदिन नगर प्रमुख कार्कीको मौखिक आदेश आएको सचिव पौडेलले बताए । ‘मेयर सा’व र वडाध्यक्षज्यूको कुराकानी भएर कार्यालय सहयोगीका रूपमा काम गरिरहनुभएको छ’–वडा सचिव पौडेलले भने ।

वराहक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले आफू आउनुभन्दा अघिको नियुक्ति भएकाले नगरप्रमुखको मौखिक आदेशबारे आफूलाई जानकारी नभएको बताए । उनले नगर अस्पतालको नियुक्तिका बारेमा नगरले नहेर्ने र अस्पतालको छुट्टै व्यवस्थापन समितिले निर्णय गर्ने बताए ।

नगरप्रमुख कार्कीले नियुक्तिका बारेमा आफूमाथि आरोपमात्र लागेको बताए । नगर अस्पताललाई चुस्तदुरुस्त बनाउन खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गरिएको उनले बताए । उनले ब्लाष्ट संवाददातासँग कुराकानी गर्दै स्थलगत अवलोकन गरिदिन आग्रह गरे । ‘तपाईंहरूले पनि स्थलगत हेर्दा राम्रो हुन्छ, व्यवस्थापन समितिको निर्णयबाट नियुक्ति भएको हो, मेरो आफ्नो मान्छे होइन’–उनले भने । वडा नं. १ मा समेत कर्मचारीलाई नियुक्ति नदिएको नगरप्रमुख कार्कीले दाबी गरे ।