कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन,२०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।

बिना विभागीय मन्त्री शम्शेर राईले सदनमा पेस गरेको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, गोम्बू शेर्पा, विदुरकुमार लिंथेम र प्रदीपकुमार सुनुवारले धारणा राखे । 

उनीहरुले कोशी प्रदेश सरकार र जनतालाई सुमधुर सम्बन्ध स्थापना महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजामती सेवा ऐन त्रुटिरहित हुनुपर्नेमा जोड दिए । उनीहरुले प्रस्तुत विधेयकको मस्यौदामै धेरै त्रुटि देखिकाले ऐनलाई समृद्ध बनाउन दफावार छलफल गर्नुपर्ने, कर्मचारी नियुक्ति, सरुवा र बढुवा तथा योग्यता ऐनमै स्पष्ट पार्नुपर्ने धारणा राखे । 

सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका तर्फबाट बिना विभागीय मन्त्री राईले जवाफ दिँदै सुशासन बिना विकासको कल्पना गर्न नसकिने भएकाले यो विधेयकमा पर्याप्त छलफल हुने बताए । उनले सैद्धान्तिक छलफलमा उठेका विषयमा गम्भीर भएर बहस र छलफल गरी त्रुटिरहित विधेयक बन्ने विश्वास व्यक्त गरे । 

आजको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता निर्मला लिम्बूले कर्णाली प्रदेशमा आएको भूकम्पबाट भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे । 

नेता लिम्बुले ताप्लेजुङको सुदूरपूर्व हिमाली क्षेत्रमा रहेका जनतालाई सेवासुविधा पु¥याउन सरकारको ध्यानाकर्षण पनि गराए । उनले ताप्लेजुङकै तिपला भञ्ज्याङको बाटो खोल्न सरकारसँग माग गरे । 

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरु खड्गबहादुर बस्नेत, गोविन्द गिरी र सदानन्द मण्डल मुलुकको समसामयिक विषयमा धारणा राखेका थिए । कोशी प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।