विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा (एमाले) मा न्यूनतम् राजनीतिक संस्कार पनि नभएको आरोप लगाएका छन् । कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले यस्तो आरोप लगाएका हुन् ।

एमालेले आफ्नै संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई अयोग्य बनाएको पनि उनले दाबी गरे । यसअघि मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि प्रदेशसभामा मन्तव्य दिँदै आङ्बोविरुद्ध भाषण गरेका थिए । त्यसबेला उनले आङ्बोको नाम नलिई ‘केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि हामी विक्षिप्त भयौँ । यो संविधान अनुकूल भएन । गठबन्धनले यहाँका अमुक नेताको नाममा सहमति गरेको विज्ञप्ति आयो । त्यसपछि हामी रन्थनियौँ । त्यहीबेला केदार कार्कीले हिम्मत गर्नुभयो । हामीले समर्थन ग¥यौँ । उहाँलाई हामीले समर्थन गर्यौँ र मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गर्यौँ’ भनेका थिए ।

त्यसको जवाफ दिँदै आङ्बोले कार्कीलाई लक्षित गर्दै गठबन्धनले २०७९ साल पुस २३ गते आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दा चाहिँ किन विक्षिप्त नभएको भन्ने प्रश्न गरे । ‘त्यसबेला गठबन्धनले निर्णय गरेर मुख्यमन्त्री बनाउँदा विक्षिप्त हुनुपरेन । ढुनमुनिनु परेन ? अब ५ वर्ष नै विक्षिप्त हुनु परेन ?’ आङ्बोले प्रश्न गर्दै भने, ‘न्यूनतम् राजनीतिक संस्कार एमालेले देखाउन सकेन ।’

आङ्बोले गठबन्धनबाटै निर्वाचित एक जना माननीय मुख्यमन्त्री बनेको विषयमा आफूहरूले स्वीकार गरेको बताउँदै केदार कार्की मुख्यमन्त्री हुँदा आफै भएकोजस्तो लागेको बताए । ‘उहाँ मुख्यमन्त्री हुँदा म आफै मुख्यमन्त्री भएजस्तो भयो । एमालेलाई भने न्यूनतम् राजनीतिक संस्कारमा नबसेपछि अझै विक्षिप्त हुने अवस्था आयो । एमालेकै कारण नै संविधानको धारा १६८ को उपधारा ५ मा पुगेको होइन ?’ आङ्बोले थप प्रश्न गरे, ‘एमालेले के ग¥यो बहादुरी ? प्रतिपक्षमा थियो । जम्माजम्मी आङ्बोलाई मुख्यमन्त्री हुन दिइएन भन्ने भन्दा के बहादुरी गर्यो ?’

आफूलाई मुख्यमन्त्री हुन नदिने दुईवटा कारण रहेको पनि उनले खुलाए । ‘मलाई मुख्यमन्त्री हुन जम्माजम्मी दुईवटा कारण थिए । एक, कम्युनिष्ट पार्टीकै मुख्यमन्त्री हुन्छ भनेर दिनुभएन । अर्को, आदिवासी जनजाति समुदायबाट आएको मान्छेलाई दिनुहुँदैनथ्यो भनेर दिनुभएन ? अब जनतामा त्यही भनेर जानुहुन्छ ? अर्को विकल्प त देखिएन’ उनले थपे, ‘सत्ता साझेदार दलबीच अझै धेरै सम्भावना छ । एमालेका नेतालाई फेरि उम्मेदवार हुनै नपाउने अवस्था आएको छ । यो अयोग्य र अपमानित भनेको संसारमा सबैभन्दा खतरनाक हुन्छ । यसको व्यवस्थापन एमालेले गरोस् । एमालेभित्रै हमास नजन्मियोस् ।’

बजेट अध्यादेश पारित
विराटनगर (ब्लाष्ट) कोशी प्रदेशसभाले यसअघि सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो ।

यसअघि उक्त अध्यादेश अस्वीकृतको माग गर्दै सत्ता गठबन्धन दलमा आबद्ध सांसद्हरूले प्रदेशसभा सचिवालयमा दर्ता गरेको सूचना सांसद् नारायणबहादुर बुर्जा मगरले फिर्ता लिए । उक्त सूचना फिर्ता लिएसँगै अध्यादेश पारित भएको हो । यस्तै प्रदेशसभाको बैठकमा ‘निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरूका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तावस्वरूप सभामा प्रस्तुत भएको छ ।