कोशी प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले पारित भएको छ ।

सो प्रस्ताव विनाविभागीय मन्त्री शम्शेर राईले प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन सहित) को नियम ९२ बमोजिम पेश गरेका थियो । यसैगरी, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ उपसभामुख सृजना दनुवारले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको छ ।

सो अध्यादेश विनाविभागीय मन्त्री गणेशप्रसाद उप्रेतीले पेश गर्नुभएको थियो । दुवै मन्त्रीले कर्णाली प्रदेशमा आएको भूकम्पबाट भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकार चुस्तदुरुस्त एवं विधिपूर्वक सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सो अध्यादेश अस्वीकृतका लागि प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेसका भूपेन्द्र राई,नेकपा माओवादी केन्द्रका नारायणबहादुर मगर र नेकपा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बूले दिएका छन् । निवेदन फिर्ता लिनु भएपछि सो अध्यादेश निर्णयार्थ प्रस्तुत भएको थियो ।

विशेष समय

नेकपा एमाले संसदीय दलका तर्फबाट रामबहादुर राना मगरले कर्णाली प्रदेशमा आएको भूकम्पबाट जोखिममा रहेका जनतालाई तत्काल उद्धार गरी गाँस, बास र कपासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।सरकारलाई आन्तरिक उत्पादनलाई व्यवस्थित गरी उद्योगलाई स्थापित गर्न उहाँले सुझाव दिएका छन् ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कर्णाली प्रदेशमा आएको भूकम्पले धेरै जनधनको क्षति भएकाले सरकारले सक्दो सहयोग गरी नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने माग गरेका छन् । उनले प्रदेश सरकारले भूकम्पपीडितका लागि तत्काल गरेको सहयोगप्रति धन्यवाद दिँदै समस्यामा परेका जनतालाई राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

शून्य समय

मुलुकको समसामयिक विषयमा कोशी प्रदेशसभा सदस्य इन्दिरा थापा, खिनु लङ्बा लिम्बू, गोपाल तामाङ, गोपालबहादुर विश्वकर्मा, गोम्बू शेर्पा, मीना श्रेष्ठ, मैया श्रेष्ठ, रमेश बस्नेत, रामदेव यादव, रेवतीरमण भण्डारी, शोभा चेम्जोङ, शिला दीक्षित कार्की, सुनिताकुमारी गुरुङ र सृजना राईले बोलेका  थियो ।

सभामा कर्णाली प्रदेशमा आएको भूकम्पबाट ज्यान गुमाएका जनताप्रति गहिरो शोक एवं दुःख व्यक्त्त गर्दै शोक प्रस्ताव पारित गर्नुका साथै एक मिनट मौण धारणा गरिएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने उपसभामुख दनुवारले जानकारी दिएका छन् ।