धनकुटा । ‘कोशी’ नाम खारेजी विरुद्ध एकल जातीय संस्थाहरूको बृहत् ऐक्यबद्धता सभामा वक्ताहरूले खारेज नभएसम्म आन्दोलन निरन्तर चल्ने उद्घोष गरेका छन् ।

सुनसरीको इटहरीमा शनिबार आयोजित कार्यक्रममा एकल जातीय संस्थाका अगुवाहरू एवम् अभियन्ताहरूले ‘कोशी’ नाम खारेज नहुञ्जेलसम्म पहिचानको आन्दोलन निरन्तररूपमा अघि बढाउने उद्घोष गरे । नेपाल आदिवासी जनजाति महासङ्घका सङ्घीय अध्यक्ष गेल्जे शेर्पाले १ नं. प्रदेशको नाम ‘कोशी’ नाम खारेजीको मुद्दा आदिवासी जनजातिहरूको साझा मुद्दा भएको बताए । ‘कोशी’ नामाङ्कन खारेजी आन्दोलनप्रति आदिवासी जनजाति सङ्घ–संस्थाहरूको ऐक्यबद्धता बृहत् सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले उक्त कुरा बताएका हुन् । अध्यक्ष शेर्पाले भने, ‘अहिलेसम्म पहिचानको नाममा १ नम्बर प्रदेशमा भइरहेको आन्दोलन राई, लिम्बू समुदायको मात्र हो कि जस्तो भइरहेकोले अबका आन्दोलनहरूमा नेपाल आदिवासी जनजजाति महासङ्घ सङ्घीय परिषद्मा आबद्ध सबै एकल जाति तथा समुदायले संयुक्तरूपमा लड्नेछन् ।’

उनले अबको पहिचानको आन्दोलन सातै प्रदेशमा गरिने बताए । उनले आन्दोलनमा एक समुदायले अर्को समुदायलाई सहयोग र समर्थन गर्दै प्रदेशका नामहरू पहिचानको आधारमा स्थापित गर्न महासङ्घ लाग्ने बताए । शेर्पाले भने, ‘आजको कार्यक्रमबाट अबको पहिचानको आन्दोलनमा सबै जातीय संस्थाका सङ्घीय अध्यक्षहरूले ऐक्यबद्धतासमेत जनाएका छन्, यसलाई अब सातै प्रदेशमा कार्यान्वयन गरेर लानु पर्दछ ।’ सभालाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलेले भने, ‘पहिचान र अधिकारको लागि आफ्नो जीवन उत्सर्गमा पु¥याउने ५ जना लिम्बुवानी महान् सहिदहरू राजकुमार आङ्देम्वे, गजेन्द्र चेम्जोङ, विजय आङ्देम्वे, मनिल तामाङ र पदम लिम्बू ‘लाजेहाङ’ प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।’ उनले कोशी नाम खारेजी पहिचानको आन्दोलनप्रति नेपालको १७ लाख तामाङहरूको तर्फबाट ऐक्यबद्धता रहेको घोषणा गरे । गोलेले भने, ‘पहिचान विरोधीहरूले मध्यरातमा कोशी नाम घोषणा गरे, हामीले प्रेस विज्ञप्तिमार्फत् मध्य घाममा कोशी नामको विरोध ग¥यौँ । तर, हामीले जारी गरेको प्रेस विज्ञप्तिले मात्र पुगेन भन्दै सङ्घीय अध्यक्ष गोलेले भने, ‘अहिले हामीले भौतिकरूपमा उपस्थित भएर भनिरहेका छौँ, केदार कार्की, हिक्मत कार्कीहरूलाई तिमीहरूको कमी कमजोरीहरू करेक्सन गर ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले भने, ‘पटक–पटक मुख्यमन्त्री फेरिने या मन्त्री हुने क्रम जारी भए पनि हाम्रो मुद्दा स्थापित नभइञ्जेल ८२ जना प्रदेशसभा सदस्यहरूलाई गाउँ–गाउँ, बस्ती र गल्लीहरूमा कुनै पनि हालतमा पस्न नदिने ।’ उनले शान्ति पूर्णरूपमा भइरहेको पहिचानको आन्दोलनलाई खेलाँची ठानी पहिचानवादीलाई जिस्काए त्यो जिस्काइ र ठट्टा महँगो हुनेसमेत चेतावनी दिए । शान्तिपूर्ण आन्दोलनलाई हतियार बोक्न बाध्य नपार्न राजनीतिक दलका नेता तथा प्रदेश र सङ्घीय सरकारलाई अध्यक्ष येक्तेनले चेतावनी दिए ।

बृहत् सभामा ऐक्यबद्धता जनाउने संस्थाहरूमा थारु कल्याणकारिणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरी, नेपाल शेर्पा सङ्घका सङ्घीय महासचिव लाक्पा शेर्पा, सुनुवार सेवा समाजका सङ्घीय अध्यक्ष अमृत सुनुवार, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घकी सङ्घीय महासचिव शोभा सुनुवार रहेका छन् । त्यसैगरी तमु ह्युला छोँज धीँका सङ्घीय उपाध्यक्ष धनमान गुरुङ, नेवाः देय दवुः का सङ्घीय उपाध्यक्ष उमेश स्थापित, नेपाल मगर सङ्घका सङ्घीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरलगायतले पहिचानको आन्दोनमा हुने हरेक गतिविधिमा सामेल हुने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामा प्रदेश नं. १ मा रहेका नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध विभिन्न जातजातिहरूको सङ्घ–संस्थाहरूबाट उल्लेख्य सहभागिता रहेको थियो ।  
koshi kharej1