कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सत्तारुढ गठबन्धन दलबाट मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिएको  छ ।

मुख्यमन्त्री कार्कीले सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका कारण एमालेले सरकारबाट बाहरिएको हो । 

मुख्यमन्त्री कार्कीले एमालेसँगको सहमतिविपरीत गठबन्धनलाई सरकारमा ल्याएपछि एमाले मन्त्री राम रानाले राजीनामा दिएका छन् । योसँगै कोशीबाट नेकपा एमाले औपचारिकरूपमा बाहिरिएको हो ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी र नेकपा एसका एक–एकजनालाई मन्त्री बनाएका थिए । माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगू मन्त्री थपिएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले शनिबार बिहान मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।

गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेपछि कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरूमा एमालेका राम राना र आफ्नो समूह निकटका कांग्रेसका शमसेर राईलाई मन्त्री बनाएका थिए ।

पछि गठबन्धनका दलहरूले भने कार्कीलाई विश्वासको मत दिएर ‘ढोक्सा’ थापेका थिए ।

नेकपा एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई  विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।