कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेपछि एमाले सरकारबाट बाहिरिएको छ । यसअघि नै एमालेले माओवादी सरकारमा समावेश भए सरकारबाट बाहिरिने बताएको थियो ।

नयाँ मन्त्रीहरूमा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जवेगू मन्त्री बनेका हुन् । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ खुवाए ।

जवेगू यसअघि पनि उद्धब थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए । उप्रेतीको राजकीय जिम्मेवारी यो पहिलो हो । नेकपा एमालेको समर्थनमा काङ्ग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा काङ्ग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

चारै मन्त्रीहरूको कार्यविभाजन अझै गरिएको छैन । आइतबारसम्ममा जिम्मेवारी तोकिने गठबन्धन दलका नेताहरूले बताए । मुख्यमन्त्री कार्कीले सहमतीय सरकार बनाउन भन्दै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए पनि एमालेले भने सरकारबाट बाहिरने चेतावनी दिएको छ ।

यसअघि कार्कीले एमालेसँग छलफल गरे पनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । काङ्ग्रेस र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाव दिएका छन् । २८ असोजमा सरकार विस्तार गर्दा उनले एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

यता मुख्यमन्त्री केदार कार्कीले सत्तारुढ गठबन्धन दलबाट मन्त्री नियुक्ति गरेपछि एमाले सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्री कार्कीले सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका कारण एमालेले सरकार छाड्ने बताएको हो ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारबाट बाहिरिने बताए । यसको औपचारिक निर्णय भने सोमबार गर्ने उनले बताए । सोमबार प्रदेशसभाको बैठक बस्दै छ । बैठकअघि बस्ने पार्टीको संसदीय दलको बैठकबाट निर्णय गरेर बाहिरिने उनको भनाइ छ । ‘हामी सोमबार दलको बैठक राखेर निर्णय गर्छौं’ उनले भने, ‘हाम्रो कुरा क्लियर छ, गठबन्धन दललाई ल्याउने हो भने हामी बाहिरिन्छौं भनेकै छौँ ।’