नेपाली साहित्यमा शालीन शैलीमा व्यक्त जीवनका शाश्वत मूल्यको खोजी गरिएका कविताहरुको सङ्गालो कवि चन्द्र गुरुङको कृति ‘जब एउटा मान्छे हराउँछ’ 'विमल गुरुङ कृति पुरस्कार–२०७९’ का लागि छनोट भएको छ ।
त्यस्तै नेपाली भाषी गोर्खालीले भोग्दै आएको भौगोलिक, राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलनको आरोह–अवरोहलाई सुन्दर शैलीमा पस्किएको विजय बान्तवा कैलाशीको गद्य कृति ‘मित्याङ्सा’ समेत छनोटमा परेको छ । दुबै कृतिलाई 'विमल गुरुङ कृति पुरस्कार–२०७९’ संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।

गोर्खाका कवि गुरुङको कविता कृति र  मिरिक दार्जिलिङका विजयको गद्य कृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ संयुक्त रुपमा दिने निर्णय भएको छनोट समिति सदस्य कवि राज माङ्लाकले जानकारी दिए ।

उक्त पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३२ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५२ औं जन्मजयन्तीको अवसरमा नगद राशी जनही एक लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।

Bimal kriti Raj manglak Purna bdr Gurung

कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फूलपातीको अवसरमा पुरस्कार घोषणा गरेको हो ।

विमल कृति पुरस्कारका लागि आह्वान गरेअनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक/ साहित्यकार/ सर्जकहरुबाट  १०१ कृति प्राप्त भएकामध्ये पहिलो चरणमा श्रेष्ठ २१ ओटा कृति छनोट गरिएको थियो । उत्कृष्ट मध्येबाट दुई कृति पुरस्कारका निम्ति चयन गरिएको हो ।

साहित्य लेखन र पत्रकारिता गर्दागर्दै ०४८ साल वैशाख २४ गते धादिङको जुकेपानीमा सवारी दुर्घटनामा परी कवि विमल गुरुङको  निधन भएको थियो । आफ्नो एक्लो छोरा विमलको स्मृतिमा पूर्व गोर्खा सैनिक पूर्णबहादुर गुरुङ र परिवारले पुस्तकालय स्थापना गरेका हुन् । विमलको जन्मदिनको अवसर पारेर ३२ वर्षदेखि नियमित राष्ट्रिय कविता महोत्सव आयोजना हुँदै आएको छ ।

पुस्तकालयकै नाममा एक करोड रुपैयाँको अक्षय कोष निर्माण गरी गत वर्षदेखि नगद २ लाख रुपैयाँको  विमल कृति पुरस्कार प्रदान गरिदै आएको ८० वर्षीय संरक्षक गुरुङले जानकारी दिए । उनले भने, ‘मत लाहुरे अनपढ परें । छोराले बनाएको साहित्यको गोरेटोलाई अपनाएर नेपाली साहित्य श्रष्टाका कृतिलाई सम्मान गर्दैछु ।  यो सबै नेपाली साहित्यकारहरूकै साझा सम्पति हो । मरेर जाँदा मैले लैजाने होइन ।’