धरान उपमहानगरपालिका १० नम्बर वडाले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
वडाध्यक्ष विवेक राई दसैं, तिहार, छठ पर्व र नेपाल सम्वतको शुभकामना लिएर वडावासीको घरदैलोमा पुगे ।
वडाका जनप्रतिनिधिले ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरे । सोही अवसरमा नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधासमेत घरघरमै प्रदान गरेको वडाध्यक्ष राईले बताए ।
वडाका ३९ ज्येष्ठ नागरिकसँग प्रत्यक्ष साक्षात्कार गरेका वडाध्यक्ष राईले सम्मान अभिनन्दनसमेत गरेका थिए ।
'कतिपय बाआमा असक्त, बिरामी पनि भएकाले घरमै पुगेर चाडपर्वको शुभकामनासहित वडाबाट प्राप्त गर्ने नवीकरणको सेवा प्रदान गरिएको छ,' वडाध्यक्ष राईले भने,'यो सुविधा हामीले पहिलो पटक सुरुवात गरेका छौं, यसलाई निरन्तरता दिनेछौं ।'
वडामा ८० वर्ष उमेरमाथिका ३९ जना ज्येष्ठ नागरिक मध्ये १८ जना महिला र २१ जना पुरुष रहेका छन्।
































