राजीनामा दिएको बीपी प्रतिष्ठान धरानका चिकित्सकले प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने प्रमुख पदाधिकारीलाई बर्खास्त गर्न आह्वान गरेका छन् । उनीहरुले अवरुद्ध प्रतिष्ठान तत्काल सञ्चालन गर्न, पदाधिकारीलाई बर्खास्त वा चिकित्सकको सामूहिक राजीनामा स्वीकृत गरिदिन आह्वान गरेका हुन् । 

गत २६ गतेदेखि लागू हुने गरी सामूहिक राजीनामा दिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १७७ चिकित्सकले प्रतिष्ठानका स्वास्थ्य सेवा अन्तरंग, बहिरंग, एमरजेन्सी, आइसियूलगायत शैक्षिक पठनपाठन, परीक्षा र अनुसन्धानसम्बन्धी कुनै पनि जिम्मेवारी वहन गर्न जिम्मेवार नरहेको जानकारी गराएका छन् । 

आइतबार प्रतिष्ठानस्थित उपकुलपति कार्यालय अगाडि पत्रकार सम्मेलन गर्दै चिकित्सहरुले प्रतिष्ठानलाई थप अनिर्णयको बन्दी नबनाउन सम्बन्धित निकायलाई आग्रह गरेका हुन् । ‘अवरुद्ध प्रतिष्ठान तत्काल सुरु गर्नू कि यो सबको कारण मुख्य जिम्मेवार रहेका प्रमुख पदाधिकारीलाई बर्खास्त गर्नू कि हाम्रो सामूहिक राजीनामा स्वीकृत गरिदिन हुन आह्वान गर्दछौं ।’ चिकित्सकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रतिष्ठानमा बिरामीको स्वास्थ्य, विद्यार्थीको पठनपाठन र अनुसन्धानलगायतमा परेको सम्पूर्ण प्रतिकूल अवस्थाको जिम्मेवार प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने प्रमुख पदाधिकारी भएको समेत सचेत गराएका छन् । 

बिपी प्रतिष्ठान पदाधिकारीको निकम्मापनले आन्दोलन गर्न बाध्य १७७ चिकित्सकले शुक्रबारदेखि लागू हुने गरी राजीनामा दिएका थिए । 

गत बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसमक्ष वृत्तिविकासको माग गर्दै आन्दोलनरत चिकित्सकले सामूहिक राजीनामा पत्र बुझाएका हुन् । प्रतिष्ठानले १५ वर्षदेखि कर्मचारी र करिब सात वर्षदेखि चिकित्सकको बढुवा रोकेको छ ।

चिकित्सकको टोलीले राजीनामाबारे प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी दिएका थिए । भेटमा प्रधानमन्त्रीसँग चिकित्सकले विगत दुई वर्षमा ५० भन्दा बढी योग्य चिकित्सकले प्रतिष्ठान छाडेको जानकारी गराएका थिए । प्रतिष्ठानका विभिन्न विभागमा प्राध्यापक तहका चिकित्सक नहुँदा चिकित्सा अध्ययनसमेत प्रभावित भइरहेको छ । 

चिकित्सकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई लोकसेवासँग समन्वय गरी समस्या समाधान गर्न निर्देशन दिएका थिए । चिकित्सकले लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीसमेतलाई भेट गरी समस्याबारे जानकारी गराएका थिए । सबैपक्षबाट चिकित्सकको मागलाई सकारात्मक रुपमा हेरिए पनि प्रतिष्ठान पदाधिकारी संवेदनशील नबनेको चिकित्सकहरुको आरोप छ । 

Bpkihs doctors' resign blastkhabar.com

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानका चारै पदाधिकारीलाई बढुवा र वृत्ति विकासका लागि काम गर्न निर्देशन दिए पनि पदाधिकारी गैरजिम्मेवार बनेका छन् । मन्त्रालयले चिकित्सकको बढुवाको काम नगरी कुनै काम लिएर मन्त्रालय नआउन निर्देश गरेको भए पनि पदाधिकारी बढुवा प्रक्रिया अघि बढाउन उदासिन देखिएका हुन् ।

प्रतिष्ठानका चिकित्सकले पछिल्लो समय असोज २१ गतेदेखि २६ गतेसम्म आन्दोलन गर्ने कार्यक्रम निर्धारण गरेका थिए । आन्दोलनपश्चात् पनि समस्याको समाधान नभए प्रतिष्ठानबाट सबै शिक्षकले राजीनामा दिने अग्रिम घोषणा गरेका थिए । यसअघि २४ भदौ मा एक महिनाभित्र निकास दिने भन्ने प्रतिष्ठानसँग सहमति भएको थियो । २५ दिन बितिसक्दासमेत सहमति पालना गर्ने छाँटकाँट नदेखिएकाले चिकित्सक आन्दोलित भएका थिए ।

प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजको नेतृत्वमा वृत्ति विकास रोकिएका शिक्षक कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउन माग आन्दोलित थिए । शिक्षक कल्याण समाजको निरन्तरको दबाबपश्चात् गत जनवरीमा शिक्षक तथा कर्मचारीहरूको आन्तरिक बढुवाको लागि सूचना निकाली क्रमिक रूपमा प्रक्रिया अघि बढ्दै करिब ५० प्रतिशतको अन्तर्वार्तासमेत सकिएको थियो । कायममुकायम उपकुलपतिको रूपमा प्रा.डा. प्रह्लाद कार्कीले जिम्मेवारी सम्हालेपछि बिना कुनै सूचना गैरजिम्मेवारीपूर्ण रुपमा बढुवाको प्रक्रिया रोकिएको चिकित्सकहरुले बताएका छन् । 

चिकित्सकको आन्दोलनका कारण असाध्य बिरामीले थप पीडा भोग्नु परिरहेको छ । जिल्ला बाहिरबाट आउने बिरामीले दुःख पाइरहेका छन् । विद्यार्थीको पढाइ नहुँदा उनीहरु पनि आन्दोलनमा उत्रिएका छन् ।