इनरुवा /  विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ ।

कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड पनि उतिकै बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताएका छन् । यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा मनाईने गरिन्छ भएकाले इनरुवा लगाएको जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको छ ।

विश्वकर्मा पूजालाई लक्ष्य गरेर स्थानीय मूर्तिकारले हजाराँै मूर्ति निर्माण गर्ने गरेको इनरुवा वडा नम्बर –८ का मूर्तिकार रामलखन मण्डलले बताएका छन् । रु २ हजारदेखि ५ हजारसम्मको कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरिएको मूर्तिकार मनोज मेहताले बताउछन् ।

इनरुवा वडा नम्बर –८ का रामलखन मण्डलले एक्लै ५० वटा विश्वकर्माको मूर्ति निर्माण गरेको बताएका छन् ।  तयार भएका मूर्तिमध्ये अधिकांश  बिक्री भइसकेका छन् । सुनसरीमा १० हजारको सङ्ख्यामा विश्वकर्माको मूर्ति खरिद बिक्री हुने गरेको छ । मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताएका छन्  । 

यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु २ लाखदेखि २ लाख ५० हजारसम्म आम्दनी गर्दै आएका छन् । यसरी मूर्तिकारले कामलाई संरक्षण गर्नसके मूर्तिको उचित मूल्य पाउन सकिने भएकाले  सरकारलेसमेत मूर्तिकारलाई समय – समयमा तालिम प्रदान गरी प्रोत्साहन गर्न जरुरी रहेको सरोकारवालाले बताएका छन् ।