प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीले पत्रकार शुद्धीकरण अभियानमा पत्रकारको न्यायोचित र जायज मागलाई बेवास्ता गरिए संघर्षका चरणबद्ध कार्यक्रम गर्ने चेतावनी दिएको छ । 

नेपाल पत्रकार महासंघ केन्द्रले सर्कुलर गरेअनुसार सदस्यता शुद्धीकरण र नयाँ सदस्य वितरणका लागि १५ बुँदे मापदण्डलाई पालना गर्न गराउन चौतारीले खबरदारी गरेको हो । 

आइतबार विराटनगरस्थित महासंघ कोशी प्रदेशको कार्यालयमा अध्यक्ष लिलावल्भव घिमिरेलाई चौतारीले ध्यानाकर्षण–पत्र बुझाएको हो । चौतारी कोशी प्रदेशका अध्यक्ष अविजाल विष्टले ध्यानाकर्षण–पत्र बुझाउँदै संगठन वा बहुमतको आधारमा गैर–पत्रकारलाई सदस्यता दिने प्रपञ्चविरुद्ध सचेत रहन महासंघलाई खबरदारी गरेको बताए । उनले पत्रकार शुद्धीकरणमा मनपरी र लापर्बाही नगर्न महासंघलाई सजग गराएको जानकारी दिए ।  

विभेदपूर्ण तरिकाले सदस्यलाई शुद्धीकरणका नाम हटाउने, बहुमतका आधारमा एकलौटी निर्णय गर्ने, उस्तै प्रकृतिका सदस्यलाई आस्थाका आधारमा कसैको नवीकरण गर्नेे, कसैको नवीकरण नगर्ने सिफारिस भएर जिल्ला शाखाबाट पठाइएकाले त्यसतर्फ महासंघ सचेत हुन आग्रह गरिएको अध्यक्ष विष्टले बताए । उनले ध्यानाकर्षणपत्र बुझाउने क्रममा महासंघ कोशीका अध्यक्षलाई फिल्डमै नदेखिएका तर कागजी डकुमेन्ट मिलाएर नयाँ सदस्य सिफारिस गरिएका, सरकारी सेवा सुविधा खाएकाहरुको समेत सदस्यता सिफारिस भएर आएकाले त्यस्ता सदस्यता सदर नगर्न सचेत गराएको बताए । 

Press Chautari Koshi Pradesh_ blastkhabar (2)

‘प्रेस चौतारी नेपाल कोशी प्रदेश शुद्धीकरण र नयाँ सदस्यता वितरण मापदण्ड अनुसारको मूलमर्म र उद्धेश्य पूरा गराउन महासंघसँग हातेमालो गर्न तयार रहेको छ ।’ अध्यक्ष विष्टले भने । 

चौतारीले पत्रकार महासंघ कोशी प्रदेशलाई बुझाएको ध्यानाकर्षण–पत्रमा सुनसरी, झापा, तेह्रथुम, संखुवासभा, पाँचथरका महासंघ जिल्ला शाखामा विभिन्न संगठनसँग व्यापक छलफल समेत नभएका गुनासाहरु, विवादहरु आइरहेको उल्लेख छ ।

‘नेपाल पत्रकार महासंघ कोशी प्रदेशले जिल्लास्थित सबै पत्रकारहरुको संघसंगठनसँग पुनः छलफल र समन्वय गर्न गराउनका लागि सबैको उचित र न्यायोचित निकासका लागि पनि पहल गर्न हाम्रो संगठन अनुरोध गर्दछ ।’ चौतारी अध्यक्ष विष्टद्वारा महासंघलाई प्रदान गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।   

नेपाल पत्रकार महासंघ जिल्ला शाखाले नवीकरण र शुद्धीकरणका लागि उजुरी दिने प्रकियालाई गोप्य र विश्वसनीय राख्नु पर्ने प्रकिया समेत पूरा नगरेको चौतारीको आरोप छ । 

उजुरीकर्ताको सूचना महासंघ कोशी प्रदेशकै कार्यसमिति सदस्य र पदाधिकारीबाट चुहावट हुँदा अन्तरद्वन्द्व बढेकाले सिर्जित समस्याप्रति जवाफदेही हुन चौतारीले महासंघ कोशी प्रदेशलाई आग्रह समेत गरेको छ ।