नेपाल पत्रकार महासंघ सुनसरीले शुद्धीकरण सिफारिसको सूची गोप्य राखी पत्रकारहरुको सूचनाको हक कुण्ठित गरेको र अवहेलना गरेको आरोप लागेको छ ।
सूचनाको हकको पक्षपातीका रुपमा मानिने पत्रकारहरुको साझा संस्था महासंघले नै आफ्ना साधारण सदस्यलाई सिफारिस सूची नदेखाएपछि प्रेस चौतारी नेपाल, सुनसरी आन्दोलित बनेको छ । यस अघि महासंघ सुनसरीलाई सिफारिस सूची सार्वजनिक गर्न २ दिने अल्टिमेटम दिए पनि बेवास्ता गरेको भन्दै चौतारीले पत्रकार महासंघ सुनसरीको कार्यालयमा कालोझण्डा राख्दै विरोध स्वरुप धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियानअन्तर्गत १५ बुँदे मापदण्ड अक्षरशः पालना नगरेको र कार्यसमितिका केही सदस्यले गैरपत्रकारलाई काखी च्यापेको र शुद्धीकरण अभियानअन्तर्गत सिफारिस गरिएको सूची सार्वजनिक नगरेको चौतारीको आरोप छ । कार्यसमितिकै सदस्यले गोजीमा सूची बोकेर तिमीहरुको मान्छे यो काटियो, त्यो काटियो भन्दै सार्वजनिक ठाउँमा अभिव्यक्ति दिने गरेको प्रति पत्रकार कृष्ण वहावले कटाक्ष गरे ।
शनिबार महासंघ कार्यालयमा सुनसरी अध्यक्ष जनकऋषि राईलाई ज्ञापन–पत्र बुझाउँदै चौतारीका केन्द्रीय सदस्य सन्तोष काफ्लेले सिफारिसको सूची सार्वजनिक गर्न माग गरे । सुनसरी अध्यक्ष राईले माग सुनुवाई हुने बताए । ज्ञापन–पत्र बुझाउँदै चौतारीले यथाशिघ्र सूची सार्वजनिक नगरे आन्दोलनको थप कार्यक्रम अघि बढाउँदै आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएको छ ।