गत बिहीबारदेखि निरन्तर वर्षासँगै बाढीपहिराले ताप्लेजुङको पूर्वक्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीका पाँच कार्यालय र पाँच घर परिवारलाई सुरक्षित स्थानमा स्थातान्तरण गरिएको छ ।
काबेली खोलामा वर्षासँगै आएको बाढीले उच्च जोखिम रहेको कार्यालय र घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । सिरिजङ्गा गाउँपालिका–८ का वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, विद्यालय र कञ्चनजङ्गा संरक्षण क्षेत्रको कार्यालयलाई सुरक्षित स्थान स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए । उच्च जोखिम पाँच घर पारिवारलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चोम्जोङले बताए। गएराति बाढीले विद्युत् गृहनै बगाएसँगै गाउँ अन्धकार भएको स्थानीय राजकुमार लिम्बूले बताए।
कालेली खोला अहिले गाउँमा छिरेको छ । खोला गाउँमा छिरेपछि गाउँ नै जोखिममा परेको याम्फुदिन प्रहरी चौकी इन्चार्ज प्रहरी हवल्दार विनोद उरावले बताए । सिदिङवा गाउँपालिका–७ सुरुङ खिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्ष भइरहेको सिदिङवा गाउँपालिका–७ का लुक्ष्मण तामाङले बताए । उनका अनुसार खोेला खोल्साहरु तर्न नसकिने अवस्था भएको छ । एक घरदेखि अर्को घर जान सम्भव नभएको वडाध्यक्ष तामाङले बताए ।
बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सुदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताए । उनका अनुसार गत साता मात्र उद्घाटन गरेको तावा खोलामा निर्माण गरेको मोटरेवल पुलको एक साइटको पिलर बगाएसँगै यातायाताका साधन आवातजापतमा ठप्प भएको उपाध्यक्ष कडरियाले बताए । धेरै क्षेत्रमा अलैँची बगान क्षति पुगेको छ ।
बुधबार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबार खेदी बन्द गरिएको छ । बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालयले प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो । “विद्यार्थी आउने बाटो अवरुद्ध भएका छन्, खोला तर्ने तरिका छैनन्”, प्रधानाध्यापक यज्ञमणि पौडेलले भने, “सिदिङवा–१ का वडासदस्य राजकुमार इम्वुङका अनुसार बिहीबार अहिलेसम्म एक क्षेत्रमा एकदेखि अर्को ठाउँमा जान कठिन छ ।”
सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राई सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन् । अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँबाट निकाल्ने उपाय नभएको राईले बताए । सिदिङवा र सिरिजङ्गामा गत वर्षको बाढीपहिराले मानविय तथा भौतिक क्षति गराएको थियो ।