विराटनगर । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै विराटनगर दुग्ध वितरण आयोजना (डिडिसी) ले प्याकेजिङ गरी बजार पठाएको पनिर म्याद गुज्रिएको भेटिएको छ । चिकित्सकका अनुसार म्याद सकिएको पनिर स्वास्थ्यको लागि हानिकारक मानिन्छ । तर, डिडिसीले भने उपभोक्ताको स्वास्थ्यमाथि खेलाँची गर्दै म्याद गुज्रिएको पनिर बजारमा पठाउने गरेको भेटिएको हो ।
नौ महिनाअगाडि नै म्याद गुज्रिएको पनिर विराटनगरको महेन्द्रचोकमा रहेको पवित्र डेरीमा शुक्रबार भेटिएको छ । विराटनगर–६ का टङ्क बरालले डिडिसीले उत्पादन गरेको पनिर राम्रो हुने विश्वासले प्रतिकेजी ४ सय ५५ रुपैयाँले दुई केजी किनेर घर लगे ।
घरमा कार्जे भएको कारणले अरू बेलाको भन्दा उनले धेरै परिमाणमा पनिर लगेका थिए । ‘घर लैजाने बितिक्कै पनिर फ्यात्त भयो । गन्ध पनि आउन थाल्यो । अरू बेलाको पनिर यस्तो हुँदैनथ्यो । त्यसपछि शङ्का लागेर मिति हेर्दा त ९ महिनाअगाडि नै म्याद गुज्रेको पनिर पो रहेछ’– उनले भने ।
पनिरको उपभोग्य मिति तीन महिनाको हुने गरेको छ । डिडिसीले बजार पठाएको पनिर ९ महिना अगाडि नै म्याद सकिएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्यान्न अनुसन्धान अधिकृत शङ्कर न्यौपानेले बताए । डिडिसीले बजारमा पठाएको पनिरको उत्पादन मिति २०७९ जेठ ३ गते रहेको छ ।
यसको सकिने म्याद २०७९ भदौ ३ गते हो । तर, उपभोग्य मिति सकिएको ९ महिना पछिसम्म पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद गुज्रेको पनिर बजारमा पठाउने गरेको उपभोक्ता युवराज बरालले बताए । यसरी म्याद गुज्रेको पनिर बजार पठाउने डिडिसीलाई कडा कारबाही हुनुपर्ने उनले बताए ।
‘उपभोक्ताको स्वास्थ्यमाथि डिडिसीले खेलवाड गरेको छ’ उनले भने, ‘हामीले गन्ध आएपछि थाहा पायौँ । नभए कार्जेमा आएका सयौं मानिसले उपभोग्य मिति सकिएको पनिर खाएर बिरामी हुने थिए । त्यसैले यस्तो गम्भीर लापरबाही गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले म्याद सकिएको पनिर नष्ट गरी सेम्पल कलेक्सन गरी नमुना परीक्षणको लागि ल्यावमा पठाएको बताए । ‘ल्याव परीक्षण रिपोर्टपछि अखाद्य भेटिए डिडिसीलाई कारबाहीको दायरामा ल्याइनेछ’ उनले भने, ‘यसको रिपोर्ट चाँडै आउँछ ।’
लेबलिङमा कैफियत भेटिएकोले लेबलसम्बन्धीको कारबाही जिल्ला प्रशासन कार्यालय मोरङमा चलाउने उनले बताए । ‘अहिले लेबलिङको कारबाही स्थानीय प्रशासनमा चल्ने गरेको छ । खाद्यसँग सम्बन्धित कैफियत भेटिए अदालतमा अभियोग लैजाने गरिएको छ’–कार्यालय प्रमुख रिजालले भने ।
यता विराटनगर दुग्ध वितरण आयोजना प्रमुख परमेश्वर चौधरीले लेबलमा समस्या भएको बताए । ‘प्याकेजिङको क्रममा पुरानो उत्पादन मिति लगाएको हो । यो भुलवश त्रुटी हुन गयो’ उनले भने, ‘प्याकेजिङ गरेको पनिरमा हावा लिकेज भयो भने गन्ध आउने गर्दछ ।’
विराटनगर डिडिसीबाट हप्ताको २ सय केजी पनिर उत्पादन हुने गरेको कार्यालय प्रमुख चौधरीको भनाइ छ । यहाँबाट उत्पादन हुने पनिर सुनसरीको धरान, इटहरी, इनरुवा र मोरङको विराटनगर, उर्लाबारी, बेलबारीलगायतका सहरहरूमा बढी खपत हुने गरेको छ ।
































