विजयपुर । धरान उपमहानगरपालिकाका प्रायः वडामा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको वितरण प्रणाली र व्यवस्थापकीय कमजोरीले समस्या भएको जानकारहरूले बताएका छन् ।
विगत केही महिनादेखि खानेपानी समस्या देखिएको नगरमा हाल चरम अभाव भएको हो । खानेपानी अभाव भएपछि स्थानीय पानी किनेर खान बाध्य भएका छन् । कतिपय स्थानीयले ट्याङ्करले पनि भन्ने बित्तिकै पानी नल्याइदिँदा समस्या भएको बताएका छन् ।
धरान–७ शान्तिपथकी स्थानीय सीता श्रेष्ठका अनुसार पछिल्लो ४ दिनदेखि धारामा पानी झरेको छैन । उनी भन्छिन्, ‘पानी आउँदा पनि पर्याप्त आएको थिएन । ४ दिनदेखि बन्द नै भयो ।’ शान्तिपथमा हप्तादिनदेखि पानी नआएको अन्य स्थानीयले बताएका छन् ।
धरान–८ की स्थानीय सकुन गुरुङ राईको घरमा पनि पानी नआएको हप्ताभन्दा बढी भयो । उनी होटल सञ्चालक हुन् । हप्तादिनदेखि उनले पानीकै कारणले होटलमा खाजा बनाउन पाएकी छैनन् । उनी भन्छिन्, ‘हप्तादिनदेखि खानेपानी नआउँदा खाजा बनाउन पाइनँ । मेरा ग्राहक अन्तै जान थाले ।’
वितरण प्रणाली सुधार गर्न नसक्दा समस्या भएको हो । धरानमा खानेपानी समस्या पुरानै हो । तर, अहिले भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इतिहासमा पहिलो पटक खानेपानी अभाव भएको छ ।
खानेपानी अभावकै कारणले प्रतिष्ठानले शैक्षिक क्रियाकलाप बन्द गरी विद्यार्थीलाई बिदा दिएको छ । नेवार एकता समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै धरानका पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले प्रतिष्ठानमा इतिहासमै पहिलो पटक खानेपानी अभाव भएको बताए । उनले भने, ‘प्रतिष्ठानमा कहिले पनि पानी अभावले विरोध जुलुस निकालेको थाहा थिएन ।’ धरानमा खानेपानीको चरम अभाव वितरण प्रणालीका कारणले भएको उनले बताए ।
खानेपानीको अवस्थाबारे वृत्तचित्रबाट थाहा पाएको बताउँदै भने, ‘मेयरले भूईंको टिप्दा, गोजीको खसिरहेको छ । त्यसैले खानेपानी समस्या भएको रहेछ ।’ उनले मेयरको अन्तरवार्ता हेर्दा स्रोत नभएकाले समस्या भएको रहेछ भन्ने लागेको बताउँदै भने, ‘सामान्य प्राविधिक कारणले सात–सात दिन वेल चलेको छैन । वेल चल्ने बित्तिकै ६० लाख लिटर उत्पादन हुने रहेछ । उनले सर्दु, खर्दु, पकुवा र निशानेले उत्पादन नदिएको बताए ।
उनले भने, ‘मेयरको श्रमसंस्कृति प्रचारको माध्यम मात्रै भएको छ । खानेपानी सहयोग पुग्न सक्दैन ।’ उनले इन्टेक निर्माण गर्ने काम महत्वपूर्ण भएको बताए । उनले नगरप्रमुख हर्कराज राईले सञ्चालन गरेको योजनाबाट कति उत्पादन हुन्छ भन्ने अवस्था नभएको बताए । निवर्तमान उपप्रमुख मञ्जु भण्डारी सुवेदीले धरानमा बोल्ने अवस्था नभएको बताइन् ।
उनले खानेपानी समस्याका कारणले बसाइ सर्ने गरेको बताइन् । उनले अहिले खानेपानी समस्याका कारणले तरहरा, इटहरीका होटलमा बसेर कपडा धोएर आउन बाध्य भएको बताइन् । उनले इन्टर कनेक्सनको समस्याले धरानमा खानेपानी चरम अभाव भएको बताइन् ।
तर, कतै पानी आउनु र नआउनुमा वितरण प्रणाली वैज्ञानिक नभएको मञ्जु भण्डारी सुवेदीले बताइन् । उनले भनिन्, ‘तत्काल खानेपानी समस्या समाधान गर्न वितरण प्रणाली सुधार गर्नुपर्छ । पाइप लाइन इन्टर कनेक्सन गर्नुपर्छ ।’
धरानको नगर प्रमुुखमा हर्कराज राई निर्वाचित भएपछि व्यवस्थापकीय कमजोरी समाधान गरी पानीको समस्या कम गर्लान् भन्ने धरानबासीले आशा गरेका थिए । धरानबासीको आशालाई मेटाउन धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका नगरप्रमुख राई नलागेका पनि होइनन् ।
स्रोत व्यवस्थापनमा मात्रै लागेका छन् भने वितरण प्रणाली सुधार गर्न लागेका छैनन् । नगरप्रमुख राईले निर्वाचित हुनुअघिको आन्दोलनमा र निर्वाचनका क्रममा एसियाली विकास बैङ्कको ऋण अनुदानमा सञ्चालित खानेपानी परियोजनामा भ्रष्टाचार भएको आरोप लगाउँदै आएका थिए ।
उनको मुख्य मुद्दा छानबिन गरी भ्रष्टाचारीलाई कारबाही गर्ने थियो । तर, उनी निर्वाचित भएको वर्षदिन पुग्दा पनि छानबिन सुरु गरेका छैनन् ।