मानव समुदाय शहरीकरणतर्फ उन्मुख भएपछि आफ्ना पुर्ख्यौली थातथलो छाड्न बाध्य छन् । धर्म, संस्कार, संस्कृति मानवसँगैसँगै आए पनि थातथलोका आदिम संस्कार, संस्कृतिजन्य बोटविरुवा र वनस्पति पनि थातथलोमै सीमित छन् । 

किरात संस्कार, संस्कृतिजन्य कटुस, भलायो, काउलो, वाही, आम्लाबुङजस्ता बोट विरुवा शहरमा छैनन् । जन्म, मृत्यु, शुद्धाइ र दैनिक कार्यमा प्रयोग हुने वनस्पति शहरमा नभेटिएपछि थातथलो नै पुग्नु पर्ने हुन्छ । 

किरात राई यायोक्खा सुनसरीले किरात राई जातिको संस्कृतिसँग जोडिएको बोट–विरुवाहरुलाई शहरतिर सार्ने अभियान सुरु गरेको छ । 

धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा संस्कार, संस्कृतिमा आधारित २ सय प्रजातिका बोटविरुवा उमार्ने प्रयोग सुरु गरेको गरिएको छ ।  

sakela park blastkhabar

‘हाम्रो जाति समुदायको संस्कारमा चाहिने शुद्ध–अशुद्ध जुनसुकै कार्यमा प्रयोग हुने बोट–विरुवा रोप्ने तयारी गदैछौं’ किराया केन्द्रीय उपाध्यक्ष एवम् अध्येता दोर्पध्वज राईले भने, ‘ती बोट–विरुवाहरु प्राय हाइअल्टिच्यूडमा मात्र पाइने हुनाले परीक्षणको लागि पनि रोप्दैछौं ।’

सवडिभिजन वन कार्यालय सुनसरीले चालू आर्थिक वर्ष २०७९–०८० मा वातावरण संरक्षण कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ बजेट विनियोजन गरिदिपछि यायोक्खा, सुनसरीले संस्कारजन्य वनस्पतिसँगै थप साढे आठ सय प्रजातिका बोटविरुवा रोप्ने कार्य सुरु गरेको किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष वसन्त वान्तवा बताउँछन् ।

साकेला सांस्कृतिक पार्कलाई व्यवस्थित र आकर्षक बनाउन आज शुक्रबारबाट वृक्षरोपण कार्य सुरु गरिएको छ ।

‘आज कहाँ कसरी रोप्ने ? भनेर लाइनिङ गर्ने, खाल्डो खन्ने कामको सुरुवात गरेका छौं’ किराया सुनसरी अध्यक्ष राजेन्द्र राईले भने, ‘करिब चार बिघामा फैलिएको पार्कमा २ सय वटा संस्कृतिजन्य बोटविरुवा, २ सय आँप, २ सय लिच्ची गरी साढे ८ सय बोटविरुवा रोप्ने तयारी छ ।’

Sakela Saskritik Park dharan 17 (1)

पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउन करिब साढे चार सय रुख विरुवामा रंग–रोगन गर्ने, नेमप्लेट राख्ने, घर–टहराहरुलाई रंगरोगन गर्ने, रुख विरुवामा पानी लगाउन पाइपलाइन विस्तार गर्ने, गिटी बिच्छ्याउनेलगायतका काम सुरु गरिएको अध्यक्ष राईले बताए । 

असार १२ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य थालिएको पार्कमा सहयोग गर्न आउनका लागि यायोक्खा सम्बद्ध संघ–संस्थाहरुलाई अध्यक्ष राईले अपिल गरेका छन् ।

वृक्षरोपण कार्यक्रममा यायोक्खाको केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईसँगै पूर्व केन्द्रीय अध्यक्ष तिलक राई, केन्द्रीय सदस्य मानभगत चाम्लिङ, किरात राई सांस्कृतिक कलाकार संघ सुनसरी, किरात राई विद्यार्थी संघ सुनसरी, किराया धरान नगर कार्य समिति साथै वडा र भाषिक संघ–संस्थाका प्रतिनिनधि वृक्षरोपणमा सहभागी भएका छन् । 

Sakela Saskritik Park dharan 17 (2)